काठमाडौं उपत्यकाको फोहर फाल्न सिसडोलवासीको अवरोध :  सर्यौ कन्टेनर बाटोमै रोकिए

काठमाडौं : काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध गरेका छन् । स्थानीय अवरोध गरेपछि काठमाडौंबाट फोहर बोकेर गएका सयौ टिपर बाटोमै थन्किएका छन् । टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा उनीहरुले फोहोर फाल्न अवरोध गरेका हुन ।

स्थानीयबासीले घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि अवरोध गर्दा सयौ कन्टेनरलगायतका सवारी सडकमै रोकिएका हुन । फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको हो ।

टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए। दुर्घटनापश्चात काठमाडौँ महानगरपालिकासँग पीडितपक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ।

कामपाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिपर भएकाले समाधानका लागि सोही निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएपछि समाधान हुन नसकेको बताइएको छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार ०८:५४