एनआरएनए उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएनएको दुई कार्यकाल आइसिसी सदस्य हुँदै यूरोप संयोजक र आइसिसी सचिव समेत भइसक्नु भएको श्रेष्ठ अघिल्लो आठौं विश्व सम्मेलनमा महासचिवको उम्मेदवार हुनुहुन्थ्यो । पर्वत निवासी श्रेष्ठ बेल्जियममा लामो समयदेखि बस्दै आउनुभएको छ ।

एनआरएन अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको श्रेष्ठले आफनो उम्मेदवारी एनआरएनको संस्थागत रुपान्तरण र परिवर्तनको लागि भएको बताउनुभएको छ ।

गैर आवासीय नेपालीका यावक समस्याहरु रहेको बताउँदै विशेष गरि मध्य पूर्व र मलेसियामा विकराल रहेका नेपाली श्रमीक सवालमा सशक्त ढंगले आवाज उठाउने श्रेष्ठले बताउनुभयो ।

एनआरएनए कार्ययोजना स्पष्ट रहेको बताउँदै श्रेष्ठले पूर्व अध्यक्ष शेष घलेले ल्याउनुभएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयन लग्नु नै संस्थाको मुख्य एजेन्डा हुनुपर्ने विचार प्रस्तुत गर्नुभएको छ ।

एनआरएन अधुरा मेगा प्रोजेक्ट पूरा हुन नसकेकोमा चिन्ता प्रकट गर्दै श्रेष्ठले अब एनआरएनए स्पष्ट भिजन र मिसनसहित अगाडि बढ्ने र त्यसका लागि सशक्त, काम गर्न सक्नेहरुको टिम आउनुपर्नेमा धारणा समेत राख्नुभयो ।

एनआरएनमा यो गर्छु त्यो गर्छु भन्नु भन्दा राम्रा, योगदान गरेका र संस्थामा अनुभव हासिल गरेका ब्यक्तीहरुलाई जिताउनुपर्नेमा जोड दिदैं श्रेष्ठले आफनो उम्मेदवारी संस्थामा निरन्तरताको लागि  भएको बताउनुनभयो ।


प्रकाशित | ५ आश्विन २०७६, आईतवार १९:१९