सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई प्रधानमन्त्रीको बिदाइ: गाइडको निर्देशन पालना गर्न सुझाव

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई एक कार्यक्रमकाबीच बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित शुभकामना तथा बिदाइ कार्यक्रममा भन्नुभयो, ‘लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस। सगरमाथा त्यही हुन्छ। अर्को पटक गएर नापेर आए हुन्छ, गाइडको निर्देशन पालना गर्नुहोला।’

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । टोलीमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चारजना कर्मचारी हुनुहुन्छ । टोलीले झण्डै एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कनेछ । टोली बुधबार प्रस्थान गर्दैछ ।

चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानुहनेछ । गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसक्नु भएको छ । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिनुभयो । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।

सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १२:४४