भक्तपुरमा आज बिस्केट जात्रा

भक्तपुर: आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शूरु हुँदैछ । प्रसिद्ध बिस्केट जात्राको तयारी पूरा भएको गुठी संस्थान कार्यालयले जनाएको छ । नववर्षको आगमनसँगै नौ दिनसम्म मनाइने बिस्केट जात्रा यो वर्ष आजबाट सुरु हुँर्दैछ । बिस्केटको लागि भक्तपुरको टौमढीस्थित पाँच तले मन्दिर परिसरमा भैरव र भद्रकालीको रथ निर्माण गरि तयारी अवस्थामा राखिएको छ ।

यो जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा शुरु गरिन्छ । चैत्र मसान्तका दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो र साझपख योसिखेल(भेलुखेल) मा बाजागाजसहित शास्त्रोत्त विधिअनुसार पूजागरि ५५ हाते लामो लिङ्गो उभ्याईन्छ । पुरानो वर्षको बिदाई र नयाँवर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने प्रचलन रहेको छ ।

बिस्केट जात्राको पाँचौ दिन अर्थात नयाँ वर्षको पहिलो दिन बैशाख १ गते लिंगो ढालिन्छ ।अष्टमात्रिकाको प्रतिक मानिने लिंगोमा नागनागिनीको प्रतिक स्वरुप हलिंपतध्वजा बाँधेर फहराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा छ ।

बैशाख २ गते नै मध्यपुर थिमिको बोडेमा बिस्केटको छैठौ दिन जिब्रो छेड्ने जात्रा हर्षोल्लासका साथ मनाइने गरिन्छ । जात्राको आठौ दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पुजा गरिन्छ । यसलाई स्थानिय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौ दिन बैशाख ५ गते बिहान कुमाले टोलमा उठाएको लिंगो ढालिन्छ र बेलुका यो जात्राको पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालिको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।

बिस्केट जात्रा हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ । यदी रथ बिगिएर रोकिए अनिष्ट हुने जनविश्वाश रहेको छ,यो भएमा क्षमापुजा गर्नुपर्छ ।

किवंदन्तीअनुसार प्राचीन कालमा यहाँ लिच्छविकालीन राजालाई आफ्नी राम्री छोरीको बिहे गर्न कठिन भएछ । कारण यो,राजकुमारीसँग जो सुते पनि मुत्यु शैयामा पुग्नुपर्ने । तर एक दिन तान्त्रीक विद्याको ज्ञान पाएका शिकारी युवाले रहस्य पत्ता लगाई ती राजकुमारीसँग बिहे गर्ने प्रस्ताव गरेछ, नभन्दै युवकले रातभर जाग्राम बसी राजकुमारीको दुई नाकको प्वालबाट निस्कने भालेपोथी नागनागीनीलाई बारले दुइ टुक्रा पारी बिहे गर्न सफल भएको दिनदेखि खुसीयाली स्वरुप बिस्केट जात्रा मनाउन थालिएको हो ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०८:२९