‘एनआरएनए चुनावमा टिके प्रथाको अन्त्य गर्दै सक्षम ब्यक्तीहरुलाई क्षमता प्रदर्शन गर्ने अवसर दिनुपर्छ’

न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) का आइसिसी उपाध्यक्ष कुल आचार्यले एनआरएनको चुनावमा टिका लगाउने प्रथाको अन्त्य गर्दै क्षमता प्रदर्शन गर्ने अवसर सबैलाई दिनुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए न्यूर्योक च्याप्टरले आज आयोजना गरेको एक कार्यक्रममा सहभागी हुँदै अध्यक्षका उम्मेदवार आचार्यले एनआरएन विश्वभरि रहेका ८० लाख नेपालीको साझा संस्था भएकाले कसैलाई मन पर्दैमा टिका लगाउने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको हो । एनआरएन एक अभियान भएको बताउँदै आचार्यले ८० लाख ब्यक्तीहरुमध्येबाट सक्षम र योग्य मान्छेलाई एनआरएनमा ल्याउनको लागि क्षमता प्रदर्शन गर्ने अवसरबाट वञ्जित गर्न नहुने विचार राख्नुभयो ।

एनआरएनमा सबै अभियन्तालाई सम्मान गर्नुपर्छ नत्र हार्दिकता नहुने भन्दै आचार्यले हार्दिकताको नाममा कसैको ब्यक्तीगत स्वार्थको पछाडि भने लाग्न नसकिने बताउनुभयो । ‘एनआरएन एउटा अभियान हो, यो हार जीतको खेल होइन’, उहाँले भन्नुभयो, ‘चुनाव एउटा प्रक्रिया हो । ८० लाख गैर आवासीय नेपाली भइसके । जो सक्षम छ, उसलाई आउने अवसर सृजना गर्नुपर्छ । साथै चुनाव हार्दैमा निषेध गर्ने र जित्दैमा अंहमता देखाउने प्रवृत्तिको समेत अन्त्य हुनुपर्छ ।’

आचार्यले आफू एनआरएनए यूकेको सदस्य, उपाध्यक्ष, अध्यक्ष, यूरोप संयोजक हुँदै आइसिसी उपाध्यक्षबाट नेतृत्वको लागि अगाडि बढेको इतिहास रहेको बताउँदै इतिहासमा कहिल्यै नहारेको भाग्यमानी ब्यक्ती आफू रहेको बताउनुभयो । आफूले कतीपय अवस्थामा आस्थाको आधारमा बाहिरका साथीहरु आउँदा पनि छोड्ने गरेको इतिहास रहेको बताउँदै सजिलो हुँदा आफूले राजनीति गर्ने, अप्ठ्यारो पर्दा अरुले राजनीति गर्नु हुन्न भन्ने स्वार्थ राख्ने परिपाटी गलत भएको समेत टिप्पणी गर्नुभयो ।

उहाँले एनआरएनमा कसैले टिका लगाइदिएर पाएको पदमा बस्न आफनो स्वभावीमानले नदिने भन्दै त्यसो गर्नु भन्दा आफनो नेपालको पुर्खौली पर्वतको बाबु बाजेको सम्पत्तिमा खेती गएर खान तयार रहेको बताउनुभयो । कसैको स्वार्थ, निगाहा र टिका लगाएर कुनै पद नलिने घोषणा गर्दै आगामी एनआरएनको नेतृत्व चयन गर्दा कसैले टिका लगाइदिएको भन्दा स्वच्छ रुपमा चुनावमा आएको खुल्ला ब्यक्तीलाई समर्थन गर्न आग्रह समेत गर्नुभयो ।

सोही अवसरमा एनआरएनका अभियन्ता सोनाम लामाले एनआरएन एक अभियान भएको बताउँदै यसलाई राजनीतिकरण गर्न नहुने विचार राख्नुभयो । एनआरएनमा राम्रा, काम गर्न सक्ने, सक्षम नेतृत्वको खाँचो रहेको भन्दै आगामी निर्वाचननको लागि आफूले हालसम्म कुनै पदमा उम्मेदवारी घोषणा गरिनसकेको स्पष्ट पार्नुभयो । लामाले राम्रा र काम गर्न सक्ने ब्यक्तीहरु आऊन भन्ने चाहाना आफनो भएको समेत बताउनुभयो । साथै अर्का अभियन्ता, खगेन्द्र जिसीले एनआरएन सबैको साझा बन्न नसकेको गुनासो गर्नुभयो । एनआरएनलाई विश्वभरीबाट सबैको साझा बनाउन सबै लाग्नुपर्ने जिसीको जोड थियो ।


प्रकाशित | ३० श्रावण २०७६, बिहीबार ०९:४२