दोलखाको कालिञ्चोक मन्दिर आसपास तथा कुरीका अनधिकृत घर टहरा हटाउन निर्देशन

दोलखा : जिल्ला प्रशासन कार्यालय दोलखाले कालिञ्चोक मन्दिर आसपास तथा कुरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण बढेको भन्दै अनधिकृत रूपमा बनाइएको घर टहरा तथा भौतिक संरचना हटाउन निर्देशन दिएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै विसं २०७५ भदौ १४ गतेको भएको सम्झौता विपरीत अतिक्रमण बढेको जनाएको छ । सम्झौता विपरीत सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर टहरा बनाएमा कानून बमोजिम कारवाही हुने जनाएको छ । विगत वर्षदेखि सो क्षेत्रमा अनधिकृत रूपमा बनाइएको घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको हो ।

जग्गा अतिक्रमण नियन्त्रणका लागि सरोकारवाला समेतको उपस्थितिमा भदौ १४ गतेको निर्णयलाई बेवास्ता गरी कोही कसैले उक्त क्षेत्रमा जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरेको भए हटाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

कार्यालयले जग्गा अतिक्रमण गरी घर टहरा बनाइरहेको भए तुरुन्त सो कार्य रोक्न सुसूचीत गरेको उहाँले बताउनुभयो । सूचनाको बेवास्ता गरी सो क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने सूचनामा उल्लेख छ ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय धरोहर कालिञ्चोक मन्दिरले दोलखाको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो आसपासका सार्वजनिक जग्गाको सबैले संरक्षण र सम्वद्र्धन गर्नुपर्ने सूचनामा उल्लेख छ । यसअघि भदौमा जिल्ला प्रशासन कार्यालयसहित बसेको सर्वपक्षीय बैठकले कुरी क्षेत्रमा ४० घरभन्दा नबढाउने सहमति भएको थियो । सहमति भए पनि हाल सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले घर बनाउँदै आएका छन् । रासस


प्रकाशित | १६ भाद्र २०७६, सोमबार २०:५६