‘काङ्ग्रेस एकजुट हुनुको विकल्प छैन’

स्याङ्जा : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा गुट–उपगुट मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल महिला सङ्घको ७२औँ स्थापना दिवस एवम संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले काङ्ग्रेस कमजोर बन्दै गएकाले अब एक हुनुको विकल्प नभएको बताउनुभयो ।

महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई सच्चिन आग्रह गर्नुभयो । “सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ, देशमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि हुनु दुःखद् छ”, उहाँले भन्नुभयो । उहाँले अब काङ्ग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।


प्रकाशित | १४ भाद्र २०७६, शनिबार २१:३६