नेपालले इन्डोनेसियालाई हरायो

काठमाडौं : ओलम्पिक महिला फुटबलको एशिया दोस्रो चरणको छनोटमा नेपालले इन्डोनेसियालाई २–१ ले पराजित गरेको छ । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा भने इन्डोनेसियालाई पराजित गरेको हो । नेपाल अघिल्ला दुई खेलमा म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो ।

म्यानमारस्थित बाथो स्टेडियममा मंगलबार भएको खेलमा नेपाललाई जिताउन दुवै गोल सावित्रा भण्डारीले गर्नुभयो । इन्डोनेसियाका बेइक अमियाटन सालिहाले गोल गर्नुभयो । खेलको ३६औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभयो । दोस्रो हाफको सुरुको दोस्रो मिनेटमै बेइक अमियाटन सालिहाले बराबरी गोल फर्काउन सफल हुनुभयो । बराबरीतर्फ धकेलिएको खेलको १ मिनेट बाँकी रहँदा साम्वाले दोस्रो गोल गर्दै नेपालाई सान्त्वना जित दिलाउन सफल हुनुभयो ।

नेपाल रहेको समूह ‘ए’ बाट आयोजक म्यानमारले तेस्रो चरणमा स्थान बनाउन सफल भयो । म्यानमारले आजै भएको अन्तिम खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेपनि गोलअन्तरमा अघि रहँदै तेस्रो चरणलाई छनोट हुन सफल भयो । छनोटमा म्यानमार र भारतले समान ७ अंक जोड्दा नेपालले ३ तथा इन्डोनेसिया अंकबिहीन बन्यो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १९:४४