नेपालीहरुको श्रम गन्तव्य मुलुकहरुमा श्रमदूत राख्ने सरकारी तयारी

काठमाडौं – सरकारले नेपालीहरुको श्रम गन्तव्य मुलुकहरुमा श्रमदूत राख्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका विविध विषय तथा कागजात हेर्ने गरी अवैतानिक श्रम दूत राख्ने तयारीमा मन्त्रालय अगाडि बढेको बताएका हुन ।

‘वैदेशिक रोजगारीका सबै गन्तव्यमा नेपाली कुटनैतिक नियोग नहुँदा साना–साना कामका लागि पनि नेपाली कामदारले अनगिन्ति झन्झट व्यहोर्नुपरेको छ’ मन्त्री श्रेष्ठले भने –‘कामदारका समस्या हेर्नुका साथै राम्रा अवसरहरुको खोजी गरी माग ल्याउने गरी अवैतानिक श्रमदूत पठाउने मन्त्रालयले तयारी थालेको हो, प्रधानमन्त्रीसँग पनि यस विषयमा छलफल भैरहेको छ ।’

वैदेशिक रोजगार पत्रकार समाजले वैदेशिक रोजगार वोर्डसँगको सहकार्यमा शुक्रवार आयोजना गरेको ‘वैदेशिक रोजगारको बर्तमान अवस्था र सुधारका प्रतिवद्धता’ विषयक अन्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन । मन्त्री श्रेष्ठले आफ्नो र मन्त्रालयको अर्जुनदृष्टी श्रमिकहरुको हकहित रहेको बताउँदै वैदेशिक रोजगारका क्षेत्रमा सुधार ल्याउन र श्रमिकलाई हीत हुने गरी काम गर्न मन्त्रालय प्रतिवद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले कानूनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने र समग्र वैदेशिक रोजगारको क्षेत्रमा सुधार ल्याउने प्रतिवद्धता जनाएका छन । वैदेशिक रोजगारमा फ्री भिसा फ्री टिकटको व्यवस्था जति लोकप्रिय छ त्यति नै कार्यान्वयन हुन नसकेको भन्दै मन्त्री श्रेष्ठले यस व्यवस्थाबाट कामदार, राज्य र व्यवसायीहरुलाई नै समस्या परेकोले सुधार्न आवश्यक रहेको औल्याएका छन ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सचिव सूर्य गौतमले वैदेशिक रोजगारको क्षेत्रको सुधारमा मन्त्रालयले काम गरिरहेको र फ्री भिसा फ्री टिकटले गर्दा झन ठगी बढेकाले एक महिनाको सेवा शुल्क तोक्दा सबैलाई फाइदा पुग्ने बताए । ‘यो व्यवस्थाले कामदार र श्रमिक दुवै पक्ष ठगिएका छन, अन्य मुलुकको पनि व्यवस्था हेरेर एक महिनाको पारिश्रामिक सेवा शुल्क तोक्दा सबै पक्षलाई फाइदा पुग्ने देखिन्छ’ गौतमले भने ।

सचिव गौतमले वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुका लागि पुर्नएकीकरण कार्यक्रम निर्देशिका एक महिनाभित्र ल्याउने जनाउँदै वैदेशिक रोजगारमा जानै पर्ने अवस्थालाई न्यूनिकरण गर्दै जाने बताए ।

कार्यक्रमका सहभागीहरुले वैदेशिक रोजगारको वर्तमान अवस्था र सरकारले चाल्नु पर्ने कदमका विषयमा आआफ्नो धारणा राखेका थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्ले, वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठलगायत सरोकारवाला निकायका पदाधिकारीको उपस्थिति भएको अन्र्तक्रिया कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष उद्वव भट्टराईले गरेका थिए ।


प्रकाशित | ३ मंसिर २०७८, शुक्रबार १९:२४