काठमाडौँ : उपचारको सिलसिलामा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनुभएका उहाँमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उहाँको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । यसअघि उहाँ गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्कनु भएको थियो ।
केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उहाँको मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर जानुभएको हो । प्रधानमन्त्रीको साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत हुनुहुन्छ ।
प्रकाशित | ८ भाद्र २०७६, आईतवार १५:३८