काठमाडौं : नागार्जुन नगरपालिका वडा नं. २ को वडा कार्यालयको आफ्नै भवन शुक्रवार शिलान्यास गरिएको छ । एक वर्षभित्र वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाको २ नं. वडा कार्यालय भनव शिलन्याश गरिएको हो । वडा नं. २ स्थित तीनघरेमा तीन करोड रुपियाँ लागतमा भवन निर्माण हुन लागेको हो ।
वडा कार्यालय भवनको शिलन्यास गर्दै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले वडा कार्यालयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताउनुभयो ।
यस वर्षभित्र चारवटा वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्य नगरपालिकाले लिएको जानकारी दिदै उहाँले क्रमिक रुपमा सबै वडा कार्यालयको भवन बनाउँदै जाने बताउनुभयो ।
प्रमुख बस्नेतले सेवाग्राहीको चहाना अनुसार नगरपालिकाले काम गरिरहेको भन्दै आगामी दिनमा पनि सेवाग्राहीकै चहाना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीति स्वाःर्थ छाडेर नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै आगामी दिनमा पनि स्वार्थ नराखेर काम गर्दै जाने स्पष्ट गर्नुभयो ।
समायोजित कर्मचारी नगरपाकिलामा आउने क्रम जारी रहेको र नगरपालिकाले ऐन, नियम र कार्यविधि निर्माण प्रक्रियालाई समेत तिब्ररुपमा अगाडि बढाएकाले अब क्रमिक रुपमा सेवा प्रवाह झनै प्रभावकारी हुने प्रमुख बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाले सार्वजनिक जमिन संरक्षण गरी उक्त स्थानमा सार्वजनिक महत्वका पूर्वाधार निर्माण गर्ने क्रम अगाडि बढाएको भन्दै उहाँले अहिलेसम्म नगरपालिकाले ४० हजार फलफूलका बिरुवा स्थानीय किसानलाई वितरण गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरपालिकाले सेवाग्राहीको भावनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले वडा कार्यालयका भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न पनि निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई सँगसँगै अगाडि बढाएको बताउनुभयो । निर्धारित समयभित्रै काम सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गर्दै उहाँले सुशासन, पारदर्शिता र सदाचारका विषयलाई नगरपालिकाले उच्च प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता थुमराज केसीले सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी वडाको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको बताउनुभयो । सो अवसरमा पूर्व प्रधानन्यायधिश मुक्ति प्रधान र समाजसेवी विदुर धमला लगायतले कार्यालय भवन निर्माण गर्ने सवालमा आफूहरुको साथ र सहयोग हुने बताउनुभयो ।
प्रकाशित | ६ भाद्र २०७६, शुक्रबार १८:१२