नेपालमा टुटल पठाओमाथि लाग्यो प्रतिबन्ध, यात्रु ओसारे अब कारबाही

काठमाडौंं : मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ ।

सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै टुटल र पठाओको नाम उल्लेख नगरी तिनीहरूले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको हो ।

सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था विपरीत भएको जनाएको छ । विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने जनाएको छ । यो समाचार आजको राजधानी दैनीकमा छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले नीतिगत रूपमा सुधार गर्नुपर्ने के के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्ने बताए ।

कानुनले तोकेभन्दा बाहिर कोही जान नसकिने र कानुनी तथा व्यावहारिक रूपमा समस्या भए त्यसलाई हल गरेर जानुपर्ने पक्षमा आफू रहेको उनको भनाइ थियो । मन्त्री नेम्वाङले यस सम्बन्धमा ट्याक्सी व्यवसायी संघले अदालतमा मुद्दा दायर गरिसकेकाले क्षेत्राधिकारलगायत विषयमा अदालतबाटै फैसाला हुनेमा जोड दिए ।

मन्त्री नेम्वाङले गत मंसिरमा टुटल र पठाओलाई तत्काल बन्द नगर्न निर्देशन दिएका थिए । विभागले त्यस समयमा पनि अहिलेकै जस्तो सूचना जारी गरेर टुटल र पठाओमाथि प्रतिबन्ध लगाएको थियो । मन्त्री नेम्वाङले यथावत् रूपमा सञ्चालन गर्न निर्देशन दिए पनि पुनः टुटल र पठाओ निर्बाध रूपमा सञ्चालनमा आएका थिए ।


प्रकाशित | २९ फाल्गुन २०७६, बिहीबार १३:३०