मुलुक सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटोमा अग्रसर: राष्ट्रपति

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटोमा अग्रसर भएको बताउनुभएको छ । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उहाँले सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउनुभयो ।

मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्दै सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको बताउनुभयो । यस दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ०९:३६