पोर्चुगलमा एक नेपाली बिरामीको विचल्ली

लिस्बन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा पर्नुभएको हो ।

गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आउनुभएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित हुनुहुन्छ । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुग्नुभएका गुरुङले मिर्गौला पीडित भएको थाहा पाउनुभएको हो । रु ११ लाख खर्च गरी उहाँ पोल्याण्ड आउनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ । चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताउनुभयो । रासस


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार २२:२१