अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित गर्छु: मेयर शाक्य

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित गर्ने बताउनुभएको छ । मातृभूमि महिला समाजले आज यहाँ आयोजना गरेको ‘काठमाडौँ महानगरपालिका जनप्रतिनिधि तथा सङ्घीय राज्य व्यवस्था’ नामक पुस्तक सार्वजनिक गर्दै उहाँले सम्पदा संरक्षण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

“सबैभन्दा बढी ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित गरेको छु”, उहाँले भन्नुभयो, “सम्पदाको पुनःनिर्माण गर्ने र हरियाली प्रवद्र्धन गर्ने कामलाई पनि प्राथमिकतामा राखेका छौँ”, आफ्नो कार्यकालमा काठमाडौँ महानगरवासीले कल्पना गरेको शहरका रुपमा विकास गर्ने प्रयासमा निरन्तर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । जनतालाई मार पर्छ भनेर कर वृद्धि नगरिएको उहाँको भनाइ थियो । काठमाडौँ उपत्यकाको विकासका लागि छिमेकी नगरपालिकासँग सहकार्य गरी अघि बढेको शाक्यको भनाइ थियो । उक्त कार्यक्रममा संस्कृति संरक्षणमा उल्लेखनीय योगदान दिएको भन्दै संस्कृतिविद् सत्यमोहन जोशी, मोदनाथ प्रश्रितलगायतलाई सम्मान गरिएको थियो ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार २०:५३