एनआरएनए महिला सचिव पदमा हङकङबाट राधिका गुरुङ (टिका) को उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा राधिका गुरुङं (टिका) ले महिला सचिवमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए हङकङको दुई कार्यकाल सफल नेतृत्व गर्दै वर्तमान महिला सचिव रहनु भएको गुरुङले आगामी कार्यकाल (२०२३(०२५) को लागि पुन उम्मेदवारी दर्ता गर्नु भएको हो ।

लामो समयदेखि एनआरएन अभियानमा होमिनु भएको गुरुङ एनआरएनए हङकङमा २००६–२००९ साधारण सदस्य हुँदै २००९–२०११ मा कार्यसमिति सदस्य, २०११–२०१३ मा महिला संयोजक तथा कोषाध्यक्ष, २०१३–२०१५ मा वरिष्ठ उपाध्यक्ष, २०१५–२०१७ अधिवेशनमा अध्यक्ष पदको प्रत्यासी तथा सल्लाहकार, २०१७–२०२१ सम्म अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो ।

उहाँले महिला सचिव हुँदा वर्तमान कार्यकालमा पोखराको महेन्द्रपुलमा सार्वजनीक शौचालय तथा पार्क निर्माणमामा महत्वपूर्ण योगदान गर्नु भएको छ । हङकङमा बस्दै ब्यवसाय गरिरहनु भएको गुरुङ सामाजिक कार्यमा लामो समय देखी सक्रिय हुनुहुन्छ । हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइ परि आउने प्राकृतिक विपत्तीमा सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा निरन्तर लागीरहने एक महिला सामाजिक अभियन्ताको रूपमा समेत चिनीनुहुन्छ ।

हङकङ सरकारले बिरलै प्रदान गर्ने चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदबीबाट समेत गुरुङ सम्मानित भइसक्नु भएको छ । त्यस्तै, एनआरएनएले विश्वको विभिन्न क्षेत्रहरुमा गरिरहने सम्मेलनहरु मध्य चौध बर्ष पश्चात गुरुङको कार्यकालमा एशिया प्यासिफिक सम्मेलन हङकङमा गर्न सफल भएको थियो।

कोभीड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या समाधानका लागी हङकङ एनआरएनको पहलमा विभिन्न आर्थिक संकलन गरि ५० थान दश लिटर क्षमताको अक्सिजन कन्सन्टेटर र १७ लाख मास्क नेपालमा बितरण गरेको थियो । यी र यस्तो मानवीय कार्यमा सक्रिय गुरुङ महिला सचिवमा निर्विरोध हुने सम्भावना बढी नै रहेको छ ।


प्रकाशित | २६ आश्विन २०८०, शुक्रबार १८:२२