संसदमा सांसदको प्रश्न: सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा किन ढिलाइ

काठमाडौं :  प्रतिनिधिण्सभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अप्ठ्यारो परेको बताउनुभयो ।

उहाँले आयोग गठन गर्न किन हेलचेक्र्याइँ भयो भन्ने प्रश्न गर्दै संविधानको भावनाअनुरुप द्वन्द्वपीडितका समस्या सम्बोधन गर्न छिटो आयोग गठन गर्न माग गर्नुभयो । सांसद शर्माले भन्नुभयो, “देश र जनताको मागअनुसार सङ्घीयता आएको हो, यसलाई इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्छ ।” सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक राज्य तथा सुशासन समितिमा अड्कियो ? राष्ट्रिय परिचयपत्र वितरण कार्य कुन ऐनअनुसार भयो ? भन्ने प्रश्न गर्दै सार्वजनिक खरीद ऐनविपरीत परिचयपत्रको ठेक्कापट्टा भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारका काम कारवाही पारदर्शी भएन । यसले गर्दा लोकतन्त्रको भावनामाथि अघात पर्छ ।”

सांसद केदार सिग्देलले भूकम्पले क्षति भएको सिंहदरबार र संसद् सचिवालय पुनःनिर्माण गर्न ढिलाइ भएकोमा आपत्ति जनाउँदै भवनभित्र रहेका अमूल्य सरसमानको अवस्था के कस्तो अवस्थामा रहेको छ भन्ने प्रश्न गर्नुभयो । सांसद प्रमोद साहले भोजपुरी र मैथली भाषाबाट रेडियो नेपालबाट प्रसारण हुँदै आएको समाचार बन्द भएकोमा आपत्ति जनाउँदै यसले भोजपुरी र मैथली संस्कृति लोप हुने खतरा बढेको बताउनुभयो ।

अर्का सांसद रामबाबुप्रसाद यादवले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा पनि कृषकले अझै पनि तराईमा सिजनको समय बीउबिजन र मलखाद पाउन नसकिरहेको गुनासो गर्दै कृषि प्रधान देशमा कृषि आधुनिकीकरण गर्न सरकारको ध्यान जान जरुरी छ भन्नुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठले नेकपाको धूम्रबाराहीस्थित पार्टी कार्यालयबारे प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै विषयवस्तु बुझेर जिम्मेवार अभिव्यक्ति दिन आग्रह गर्नुभयो । उहाँले गोरखा भूकम्पले बल्खुस्थित पार्टी कार्यालय क्षति पुगेकाले चार वर्षदेखि पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन लिजमा प्रयोग गर्दै आएको स्पष्ट पार्नुभयो ।

सांसद डा डिला सङ्ग्रौलाले नेपाली कामदार रोजगारीका लागि मलेसिया जान बन्द भएको दुई वर्ष भइसक्यो, यसका बारेमा मौन किन ? भन्ने प्रश्न गर्नुभयो । सांसद सरिता गिरी जङ्गल र बस्तीलाई व्यवस्थापन गरेर मात्र निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाउन सुझाव दिनुभयो । सांसद झपटबहादुर रावलले गैरकानूनी नागरिकता कति व्यक्तिले लिएका छन् र हालसम्म कति खारेज भयो सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद प्रकाश रसाइलीले जनताको जीउधनको सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेमप्रसाद तुलाचनले हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिउँद महीनामा भएको हिमपातका कारण धेरै सङ्ख्यामा भेडाच्याङ्ग्रा मरेको र त्यहाँका पीडित किसानले अझै क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । सांसद तेजुलाल चौधरीले मुलुकमा बढ्दो भ्रष्टाचार र अनियमिता रोक्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो । सांसद नवराज सिलवालले संसदीय अभ्यासको गरिमालाई ख्याल गर्दै संवेदनशील विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदको एक धारणा आउन जरुरी भएको उल्लेख गर्नुभयो । सांसद प्रमिला राईले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालको नाराविपरीत मुलुकको विकासले गति लिन नसकेको र अनियमितताका घटना बढेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार १८:५२