नोक्सानमा गएको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा ल्याइने

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार सम्हाल्नु भएको छ । उहाँको नियुक्तिसँगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका न्यौपानेलाई उदययुर सिमेन्ट उद्योगमा चारवर्षे कार्यकालका लागि महाप्रबन्धका रुपमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
उहाँले नोक्सानमा गएको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, थप क्षमता वृद्धिका लागि अध्ययन गराउने, बजार व्यवस्थापन र ब्राण्डिङमा जोड दिने, लागत कम गर्ने उपायको खोजी गरी अन्य उद्योगसँग प्रतिष्पर्धी बनाउने मुख्य योजना रहेको बताउनु भयो ।
यसैगरी उहाँले वैकल्पिक ऊर्जा, उद्योगका नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताउनु भयो । नवनियुक्त महाप्रबन्धक न्यौपानेले उद्योगका कामदार र कर्मचारीलाई उत्प्रेरणात्मक सीप अभिवृद्धिमुखी तालीम सञ्चालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने, वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटको मिश्रण गर्न सकिनेतर्फ पनि अध्ययन गर्नेलगायतका योजना अघि सार्नु भएको छ ।


प्रकाशित | ३ माघ २०७७, शनिबार ०९:१९