अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाको जित

एजेन्सी: प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ । अमेरिकाको मियामी बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २(१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा सर्जियो बुस्केट र इभान राकिटिकले एक एक गोल गरे । नापोलीले आत्मघाती गोलबाट एक गोल फर्काएको थियो ।

हार्ड रक स्टेडियममा कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले ३९ औं मिनेटमा बुस्केटको गोलबाट अग्रता बनाएको थियो । कप्तान मेस्सी पिडुलाको चोटका कारण अमेरिका भ्रमणमा रहेका छैनन् । खेलको ४२ औं मिनेटमा बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरेपछि नापोली खेलमा फर्कियो । तर, खेलको ७९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई २(१ को जित दिलाए । युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि टिमको तयारी गर्न बार्सिलोना र नापोलीले मैत्रीपूर्ण खेल खेलेको हो ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार ११:०३