कालिन्चोक गाउँपालिकाका सबै वडामा दर्ता सिफारिस एवं प्रमाणपत्र ब्यवस्थापन प्रणाली जडान

दोलखा : कालिन्चोक गाउँपालिकाका सबै वडामा दर्ता सिफारिस एवं प्रमाणपत्र ब्यवस्थापन प्रणाली (कम्प्युटर सफट्वेयर) जडान गरिएको छ । सूचना प्रविधि अधिकृत प्रविण चौहानका अनुसार बिहीबारबाट सबै वडामा यो प्रणाली जडान गर्ने कार्य सम्पन्न गरिएको हो । सबै वडा कार्यालयमा गाउँपालिकाबाट प्राविधिक खटेर नमुना परिक्षण समेत गराएको सूचना प्रविधि अधिकृत चौहानले बताउनुभयो ।

कालिन्चोक गाउँपालिका उपप्रमुख कालीका पाठकले गाउँपालिकालाई नमुना बनाउने अभियानमा आफूहरु लागिपरेको बताउँदै सप्टवेयर प्रणाली शूरु भएसँगै अब गाउँपालिकाका सम्पूर्ण सिफारिसहरु कम्प्युटर प्रणालीबाट जारी हुने बताउनुभयो । सबै वडामा आवश्यक तालिम प्रदान गर्दै सो प्रणालीलाई कार्यान्वयनको चरणमा लग्ने गरि जडान गरिएको उपप्रमुख पाठकले जानकारी गराउनुभयो ।

‘यो प्रणालीको प्रयोग भएपछि सजिलै सोही प्रणाली बाटै हेर्न र पुन जारी गर्न सकिने, पुराना सिफारिस गरिएका सिफारिस पत्र खोज्न रेकर्ड फाइल र ढड्डाहरु पल्टाउनु नपर्ने, फाइल हराउने वा च्यातिने डर नहुने,  गाउँपालिकाको सम्पूर्ण सिफारिस, कागजपत्र ब्यवस्थापनमा सहज हुनेछ । वडाबाट जारी गरिएका दैनिक, मासिक, वार्षिक रुपमा जारी गरिएका सिफारिसहरु (सप्ट्वेयर ) बाट स्पष्ट हेर्न सकिनेछ । जसले सेवा सुविधा छिटो छरितो र प्रविधियुक्त गर्न मद्दत पुग्ने विश्वास गाउँपालिकाको छ’, उपप्रमुख पाठकले भन्नुभयो ।

त्यस्तै, कालिन्चोक गाउँपालिकाले सबै वडामा यो प्रणाली जडान गरेसँगै सम्पुर्ण वडा कार्यालयलाई सफ्टवेयर अनिवार्य रुपमा प्रयोग गर्न निर्देशन दिएको छ । गाउँपालिकाले सफ्टवेयर सिस्टम भन्दा बाहिरबाट जारी भएका, हस्तलिखित गरि सिफारिस गरिएको वा गाउँपालिकामा सिफारिस भई आएको पाइएमा गाउँपालिकामा स्पष्टीकरण दिनुपर्ने गरि कार्यान्वयन गर्न लागिपरेको छ ।

गाउँपालिकाले सफ्टवेयरमा कुनै समस्या वा अस्पष्टता पाइएमा तुरुन्तै सपोर्टको व्यवस्था भएको जनाएको छ । गाउँपालिकाले भनेको छ, ‘कार्यालयको आवश्यकता अनुसार सिफारिसका व्यहोराहरुमा थप गर्ने व्यवस्था भएको, सफ्टवेयरको प्रयोग सम्बन्धी प्रशिक्षण र प्रयोगात्मक सम्पुर्ण वडा कार्यालयमा जडानको क्रममा गरिएको साथै सो सम्बन्धी चाडैं अभिमुखिकरण कार्यशाला समेत हुनेछ ।’

त्यस्तै गाउँपालिकाले आइपि सेटअप नहुन्जेलसम्मको लागि महिनामा कम्तिमा २ चोटी सम्म प्रणालीको प्रयोग गरि जारी गरिएका सिफारिस सम्बन्धमा रिपोर्टिङ गर्न आग्रह गरेको छ । गाउँपालिकामा जम्मा ९ वटा वडाहरु छन् । हाल सम्म यो प्रणाली देशभरका ३० स्थानीय तहमा लागू भइसकेको पाइएको छ । दोलखा जिल्लामा हाल सम्म तामाकोसी र वैतेश्वर गाउँपालिकाका एक एक वडा र भने विगु गाउँपालिमा यो प्रणली जडान भइसकेको छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार २१:४२