कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्दै रबिना थापाको घोषणा : एनआरएनमा देखिएको असमझदारीलाई पूर्ण रुपमा अन्त्य गर्छु

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा रबिना थापाको कार्यकाल सुरु भएको छ । पदधारण सम्हाले पश्चात् विज्ञप्ति जारी गर्दै कार्यकारी अध्यक्ष रविना थापाले एनआरएनमा रहेका विभिन्न तिक्तता हटाउँदै संस्थाभित्र आत्मियता कायम गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

संस्था भित्र विगतमा देखिएका विभिन्न असमझदारीहरुलाई अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने कार्यकारी अध्यक्ष थापाले प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नु भयो “गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्ण रुपमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहने छ । संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ”।

कार्यकारी अध्यक्ष थापाले आगामी ६ महिनामा आफ्नो कामको प्राथामिकताहरु बुँद्धागत रुपमा प्रस्तुत गर्नु भएको छ । पहिलो ६ महिना संघको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुल आचार्यलाई थापाले विज्ञप्तीमार्फत धन्यवाद दिनु भएको छ ।

अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाई मूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा आफ्नो ध्यान केन्द्रित रहने बताउनु भयो ।

यस्तै विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।

“एक पल्टको नेपाली, सधैको नेपाली” लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित | १८ आश्विन २०७९, मंगलवार १५:२३