नेपालीहरु वित्तीय ज्ञानको अभावमा मरुभूमिमा भौतारिनु परिरहेको छ: गभर्नर चिरञ्जिवी नेपाल

पाल्पा : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले नेपालीहरु वित्तीय साक्षरतासम्बन्धी ज्ञानको अभावमा मरुभूमिमा भौतारिन पुगेको बताउनुभएको छ । तिनाउ गाउँपालिकाको डुम्रेमा सञ्चालित ‘साइन रेसुङ्गा डेभलभमेन्ट बंैक’द्वारा आयोजित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा गभर्नर नेपालले नेपालीसँग अवसर र पैसा भए पनि वित्तीय साक्षरतासम्बन्धी ज्ञान र सीप नहुँदा खाडीमा दुःख पाइरहेको बताउनुभयो ।

युरोप र अमेरिकामा नेपाली नागरिक ऋणमा रहेको गभर्नर नेपालले बताउनुभयो । “घरघरमा बैंकिङ पहँुच रहे पनि व्यवसायभन्दा विदेशमा पैसा कमाउन जान चाहने प्रवृति नै गतल छ”, उहाँले भन्नुुभयो, “सुन्दर र हरियाली मुलुकमा उत्पादनको क्षेत्र छ ।” बैंकबाट कर्जा लिई व्यवसाय गर्ने सम्भावना रहे पनि शिक्षा प्रणालीका कारण पढाई सकेर विदेश पठाउन अभिभावक बाध्य भएको उहाँले बताउनुभयो ।

“अवसर छ, पैसा छ, बैंकले व्यवसायका लागि कर्जा प्रवाह गर्ने व्यवस्था छ । वित्तीय साक्षरतासम्बन्धी ज्ञानको अभावमा नेपाली विदेशिएका छन्”, गभर्नर नेपालले भन्नुभयो । कार्यक्रममा राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, मस्याम बहुमुखी क्याम्पसका प्रमुख घनबहादुर कार्की, बैंकका कार्यकारी प्रमुख प्रकाश पौडेललगायतले उक्त क्षेत्रमा सञ्चालनमा आएको बैंकले स्थानीयवासीको आयआर्जनमा टेवा पुग्ने बताउनुभयो । बैंक सञ्चालनमा आएपछि तिनाउ गाउँपालिकाको कोलडाडा र मस्याम डुम्रे, तानसेन नगरपालिकाको मदनपोखरा, विन्दावन र जरपिपल तथा रिब्दीकोट गाउँपालिकाको ठिमुरे क्षेत्रका बासिन्दा लाभान्वित हुने बताइएको छ ।


प्रकाशित | १७ श्रावण २०७६, शुक्रबार १९:३२