युक्रेनले भन्यो- हामी रुससँग डराउँदैनौं, आक्रमण नरोकिएसम्म देशको रक्षाको लागि लडिरहन्छौ

रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्नु भएको छ । राष्ट्रपति जेलेन्स्कीले देशबासीलाई सम्बोधन गर्दै अहिलेसम्म युद्धमा सर्वसाधारणसहित १३७ युक्रेनी मारिएको र अन्य ३१६ जना घाइते भएको बताउनु भएको छ ।

जेलेन्स्कीले आफू सरकारी क्वार्टरमा रहेको जानकारी गराउँदै कीभ छाड्ने कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नु भएको छ । स्थानीय समयअनुसार आज बिहान ४ बजे गर्नु भएको सम्बोधनमा कीभमा धेरै रुसी क्षेप्यास्त्र आक्रमण भइरहेको पुष्टि गर्दै आक्रमणले सैन्य र नागरिक क्षेत्रहरूलाई लक्षित गरिएको बताउनु भयो ।

जेलेन्स्कीले रुसी आक्रमणसँग नडराउने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी रुससँग डराउँदैनौं, आक्रमण नरोकिएसम्म देशको रक्षाको लागि लडिरहन्छौ ।’

जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको पनि बताउनु भयो ।

‘यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले हामीसँग कुरा गर्नुपर्ने हुन्छ’. उहाँले भन्नु भयो, ‘जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुन्छ।’


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १३:३६