एनआरएनए मेरील्याण्ड च्याप्टरको कार्यालय उद्घाटन

मेरील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) मेरील्याण्ड च्याप्टरको कार्यालय एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी, मेरिल्याण्डका लागि महावाणिज्यदूत प्रेम राजा महत्त र एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

सो अवसरमा एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीले संस्थागत विकासका लागि मेरिल्याण्ड च्याप्टरले ऐतिहासिक कार्यको शूरु गरेको बताउनु भयो । मेरिल्याण्ड च्याप्टरले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्दै उहाँले अन्य च्याप्टर पनि प्रभावीत हुने विश्वास ब्यक्त गर्नु भयो ।

साथै त्रिपाठीले केहि वर्षअघि सम्म डेलिगेट्स गइदिनुस भनेर खोज्नुपर्ने अवस्थामा अहिले डेलिगेट्समा यति धेरै प्रतिस्पर्धाको अवस्था आउनुले संस्थाप्रतिको आर्कषण बढ्दै गएको प्रष्ट हुने बताउनु भयो । संस्थामा समान्य विवाद देखिएता पनि यसलाई सकारात्मक रुपमा पनि लिनुपर्ने उहाँले बताउनु भयो । एनआरएन नेपालीहरुको आस्थाको केन्द्रको विन्दू भएको बताउँदै महत्वपूर्ण कुराहरुमा विवाद आउनु स्वभावीक भएको उहाँको भनाइ छ ।

‘काम गर्ने सवालमा विवाद देखिन्छ र त्यो समाधान भएर जान्छन् । मलाई नेतृत्व प्रति पूर्ण विश्वास छ । छिटो भन्दा छिटो विवाद समाधान हुनेछ’, उहाँले भन्नु भयो ।

त्रिपाठीले संयोजकको सफल कार्यकालपछि संस्थाको केन्द्रमा रहेर काम गर्दै अभियानमा निरन्तरता दिन चाहेकाले कोषाध्यक्षको रुपमा अगाडि बढेको बताउनु भयो । उहाँले संस्थाको हरेक निर्णय पारदर्शी, उत्तरदायी र आत्मनिर्भर बनाउन आफू लागिपर्ने पनि बताउनु भयो । साथै विद्यार्थीहरुलाई पनि एनआरएनमा आबद्ध गराउनका लागि विधानमा संशोधनको प्रक्रिया अगाडि बढाउने पहल गर्ने बताउनु भयो ।

महावाणिज्यदूत प्रेमराजा महत्तले कार्यालय स्थापनाले गैर आवासीय नेपालीहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो । साथै उहाँले भवन स्थापना गरेर मेरिल्याण्ड च्याप्टरले संसारभरका एनआरएनए माझ उदाहरणीय काम गरेको बताउनु भयो ।

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले कार्यालय स्थापना गरेर च्याप्टरले ऐतिहासिक काम गरेको बताउनु भयो। यो काम सम्पन्न गर्न मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली र बर्तमान कार्य समितिसंग आफुले नियमित छलफल र सहकार्य गरेको पनि जानकारी गराउनु भयो ।

आईसीसी, एनसीसी, च्याप्टरका पदाधिकारी र मेरिल्याण्डका सामाजिक संस्थाका सम्मानित व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा च्याप्टरले हालै नियुक्त गरेका सल्लाहकारहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो। साथै, च्याप्टरको हेल्प डेस्क संयोजक श्याम कतिला, आर्ट एण्ड कल्चरल बिभाग संयोजक लक्ष्मण पौडेल र मिडिया पार्टनर नेप्लिज डायस्पोरालाई पनि प्रमाण पत्रले सम्मानित गरिएको थियो।

कार्यक्रममा एनआरएनएनका आईसीसी सदस्य शिवराज पौडेल, एनसीसी कोरियाका निबर्तमान अध्यक्ष राजु क्षेत्री, एनसीसीका सल्लाहकार सुभाष घिमिरे, बोर्ड अफ डाईरेक्टर डोलनाथ घिमिरे, पानसका केन्द्रिय अध्यक्ष प्रेमकुमार श्रेष्ठ, ओएनएफका अन्तराष्ट्रिय अध्यक्ष प्रभु थापा, पुर्व अध्यक्ष दुर्गा श्रेष्ठ, नासोका अध्यक्ष राजेन्द्र सेन्चुरी, बानाका अध्यक्ष सुबोध विलास पन्त, साथी बाल्टिमोरका रमेश भट्ट, सल्लाहकारको तर्फबाट अनु श्रेष्ठ वन्त, जनसम्पर्क समिति मेरिल्याण्डका महासचिव नेत्र केसी, समाजसेवी विजय श्रेष्ठ, नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईं लगायतले बोल्नु भएको थियो।

च्याप्टर सचिव प्रविन खड्काले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष राजु पराजुलीले गर्नु भएको थियो।


प्रकाशित | १४ कार्तिक २०७८, आईतवार २१:२८