बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

अबुजा, १३ साउन (रासस-सिन्ह्वा) :  नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ ।

बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिनुभयो ।

पीडितसँग भेटघाटपछि संचारकर्मीसँग कुरा गर्दै गभर्नर बाबागानाले मानवीय संवेदना शून्य भएका आतंककारीले निर्दोष गाउँलेमाथि आक्रमण गरेको बताउनुभयो ।

सरकार समर्थित स्थानीय सुरक्षा गार्डमा आबद्ध अब्बागाना अलिले आक्रमणमा मारिएका व्यक्तिको दाहसंस्कार भइरहेका समयमा समेत बोको हरामले आक्रमण गरेको जानकारी दिनुभयो ।

बाडु मलाम क्यारिरी गाउँमा मात्र २६ जनाको हत्या भएको अलिले सिन्ह्वा समाचार समितिलाई बताउनुभयो । उहाँले विमानभेदी बन्दुक समेतबाट सुसज्जित पाँच वटा ट्रकमा आएका बोको हरामले गाउँमा आक्रमण गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – उनीहरुले कसैलाई छाडेनन् । उनीहरुले यहाँ महिला र बालबालिकाको पनि हत्या गरे । हामी सबैजसोले भागेर ज्यान जोगाउन सफल भयौं ।

बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकदेखि आक्रमण जारी राखेको छ । उनीहरु उत्तरी अफ्रिकामा कट्टर इस्लामिक राज्य स्थापना गर्न चाहन्छन् ।


प्रकाशित | १३ श्रावण २०७६, सोमबार २१:२१