‘नेपाल भ्रमण वर्ष–२०२०’ युरोपको औपचारिक शुभारम्भ इटालीको रोमबाट गरिदैं

किरण बुढाथोकी /काठमाडौं

‘ देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने’  मूल नाराका साथ यही अगष्ट २ देखि ४ तारिखमा इटालीको रोममा हुन गइरहेको एनआरएनएको १२ औँ यूरोपेली बैठकको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने भएको छ । लगानी र पर्यटन प्रवद्र्धनलाई मुख्य केन्द्रविन्दुुमा राखेर आयोजना गरिन लागिएको क्षेत्रीय बैठकको पूर्व सन्ध्यामा नेपााल भ्रमण वर्ष २०२० शुभारम्भ गरिन लागिएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोेपका क्षेत्रीय संयोजक शिव कुमार वरुवालका अनुसार बैठकको पूर्व सन्ध्यामा अर्थात २ अगष्टमा इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका बिशिस्ट ब्यक्तित्व, नेपाल सरकारका मन्त्री , नेपाल पर्यटन बर्षका २०२० का कार्यक्रम संयोजक , नेपाल पर्यटन बोर्डका प्रतिनिधि, गैरआवासीय नेपाली संघका पदाधिकारी लगायतको उपस्थितीमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने लागिएको हो ।

सो अवसरमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य, , नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका सबै राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी हुने क्षेत्रीय संयोजक बरुवालले  विश्व सन्देश अनलाईनलाई जानकारी गराउनुभयो ।

एनआरएन क्षेत्रीय बैठकमा यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय जना प्रतिनिधी सहभागी हुने संयोजक बरुवालले विश्व सन्देश अनलाईनलाई जानकारी गराउनुभयो ।

संयोजक अरुवालका अनुसार एनआरएनए सम्मेलन ३ र ४ अगस्ट गरि दुई दिन चल्नेछ । सोही अवसरमा इटालीको रोममै संघको १० औं महिला भेलासमेत आयोजना गरिँदै छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउनेछन् । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिने संयोजक बरुवालले बताउनुभयो ।


प्रकाशित | १३ श्रावण २०७६, सोमबार १५:३९