श्रीलङ्काका राष्ट्रपति राजपक्षेद्धारा नयाँ मन्त्रीमण्डल विस्तार,४ मन्त्रीले लिए शपथ

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले चार मन्त्रीलाई नियुक्त गर्नुभएको छ । चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै राष्ट्रपति राजपक्षले नयाँ मन्त्रीमण्डलको घोषणा गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिनुभएको छ भने जी. एल. पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्त्रीको रूपमा शपथ लिनुभएको छ ।

अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा राखिने बताएका छन् ।

श्रीलङ्काको आर्थिक सङ्कट, दैनिक घण्टौँ लामो लोडशेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन गरेको धेरै दिन भइसकेको छ ।


प्रकाशित | २२ चैत्र २०७८, मंगलवार ०९:२०