मानव बेचबिखन अनुसन्धान ब्यूरोले बढायो सक्रियता : ब्यूरो स्थापनापछि विभिन्न देशबाट २५१ को उद्धार

काठमाडौं: मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको नाममा विभिन्न देश पुगेका २५१ जनाको उद्धार गरिएको छ । उनीहरुलाई भारत, किर्किस्थान, कुवेत, लिबिया, केन्यालगायत देशबाट उद्धार गरिएको ब्यूरोले जनाएको छ । उद्धार गरिएकामा धेरै महिला छन् । गएको फागुनदेखि असारसम्ममा उनीहरुको यसरी उद्धार गरिएको हो ।

वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना बढ्दै गएकाले प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना गरेर काम गर्दै आएको छ । ब्यूरो स्थापनापछि अहिलेसम्म ११ घटनामा मुद्दा दर्ता गरिएको ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । आरोपीमध्ये १२ जना पक्राउ परेका छन् । अझै २९ जना फरार रहेकाले खोजी जारी रहेको उहाँले जानकारी दिनुभयो । भारतबाट मात्रै झण्डै २०० जनाको उद्धार गरिएको छ । पहिले भारतमा देह व्यापारका लागि मानव बेचबिखन हुने गरेको थियो ।

अहिले भने वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन हुँदै आएको छ । अवैध बाटो हुँदै मानिसलाई बेचबिखन गर्ने गरेको प्रहरीले जनाएको छ । कानूनमा यसरी बेचबिखन गर्नेलाई १५ वर्षसम्म सजाया हुने व्यवस्था छ ।


प्रकाशित | १३ श्रावण २०७६, सोमबार १०:३२