कांग्रेस सहमहामन्त्रीमा डिना उपाध्याय, भीष्मराज आङदेम्बे र जीवन परियार निर्वाचित

काठमाडौं – नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । बिहीबार महामन्त्री पदको अन्तिम परिणाम घोषणा भएपछि सहमहामन्त्री पदको मतगणना सुरु भएको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले महिला, दलित र आदिवासी जनजाति क्लस्टरको नतिजा सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले दुई हजार ५३३ मत प्राप्त गर्नुभएको छ । सोही पदकी उम्मेदवार कमला पन्तलेदुई हजार १०५ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी, दलिततर्फ सहमहामन्त्री पदमा जीवन परियार निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ । दलितर्फ सहमहामन्त्री पदका उम्मेदवारद्वय मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । आङदेम्बेले दुई हजार ७११ मत प्राप्त गर्दा सहमहामन्त्री पदका उम्मेदवार विकास लामाले एक हजार ९१३ मत पाउनुभएको छ ।

अन्य ५ क्षेत्रतर्फ सहमहामन्त्री पदको मतगणना शुक्रबार मात्रै हुनेछ । जसमा खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेशीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादवले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी, मुश्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकीलले उम्मेदवारी दिनुभएको छ । थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरीले उम्मेदवारी दिनुभएको छ । पिछडिएको क्षेत्रबाट चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ । काँग्रेसको विधानअनुसार सहमहामन्त्री हुने व्यवस्था छ ।


प्रकाशित | २ पुष २०७८, शुक्रबार १०:३५