संसद् भवनको जग नखन्दै भ्रष्टाचार

काठमाडौं : सरकारले सार्वजनिक खरिद कानुन मिचेर सिंहदरबारमा संघीय संसद् भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । निर्माणस्थल खाली नगराई नै सहरी विकास मन्त्रालयले भवन निर्माणको टेन्डर आह्वान गरिसकेको छ । सात अर्ब रुपैयाँ लगानीमा बन्न लागेको संसद् भवन निर्माणका लागि १७ कम्पनीले बोलपत्र हालेका छन्, जसको अहिले मूल्यांकन भइरहेको छ । तर, संसद् भवन निर्माणस्थलमा अहिले सिंहदरबार सुरक्षार्थ खटिएको चण्डीदल गण बसेको छ । सार्वजनिक खरिद नियमावलीको नियम ६ को उपनियम ३ मा सार्वजनिक निकायले निर्माणस्थलबाट भएका संरचना नहटाई बोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ । यसलाई मिचेर सरकारले सिंहदरबारमा रहेका पाँच सय ५० भन्दा बढी सैनिकको व्यवस्थापन नगरी निर्माण प्रक्रिया अघि बढाएको हो ।

ब्यारेक रहेको स्थान खाली गर्न सिंहदरबार परिसरको गुरुयोजना संशोधनसम्बन्धी समितिले सेनासँग पटकपटक वार्ता गरेको छ । सिंहदरबारकै सुरक्षाका लागि सेना बस्नुपर्ने र त्यसका लागि पर्याप्त ठाउँ चाहिने सेनाको दाबी छ । सेनाले अहिले बसेकोजति क्षेत्र दिने विकल्प सरकारसँगै छैन । ‘सिंहदरबारभित्र अहिले पाँच सय ५० भन्दा बढी सेना छन् । उनीहरूलाई जसरी पनि व्यवस्थापन गर्नुपर्नेछ । यो चुनौतीपूर्ण छ, तर असम्भव छैन,’ समितिकी संयोजक सरिता श्रेष्ठ मास्केले नयाँ पत्रिकासँग भनिन्, ‘अहिले सेना ठूलो क्षेत्र लिएर बसेको छ । सेनाले अहिलेकै जति क्षेत्र त पाउन गाह्रो छ, तर व्यवस्थापन गर्न सकिन्छ । सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा बन्ने संसद् भवन आर्थिक वर्ष ०७८र७९ मा सम्पन्न गर्ने योजना विभागको छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा सुवास भट्टले लेखेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागले १२ जेठमा सिंहदरबारस्थित पुतली बगैँचामा संसद् भवन निर्माणका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो । भवन बनाउन स्वदेशी र विदेशी गरी १७ कम्पनीले आवेदन हालेका छन् । विभागले गत २५ असारमा प्रस्तावित कम्पनीहरूको नाम सार्वजनिक गरिसकेको छ । जसमा क्यापासिट–ई इफ्राप्रोजेक्ट–गौरी पार्वती जेभी, सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, सीआईसिओ–समानान्तर जेभी, जीआइइटिसी–लामा जेभी, एनबिसिसी इन्डिया, जेडजेसिससी–एएनके जेभी, एनहुई सुइआन कन्स्ट्रक्सन ग्रुप र रमन एचआइसिसी जेभीले आवेदन दिएका छन् । यस्तै, चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन, जेडआइइसी शर्मा जेभी, सिम्प्लेक्स प्रोजेक्ट्स, एनसिएएसिजी–सिजिआइसिओपी, सिओभिइसी–सिआरइजिसी जेभी, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप, आइइपिसी–आशीष जेभी, टिइसिसी ज्येष्ठ जेभी र टुन्डी एसएचइसी जेभीले पनि प्रस्ताव पेस गरेका छन् । आवेदन दिएका कम्पनीको मूल्यांकन भइरहेको विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार ०९:०८