एनआरएनए उच्चस्तरीय समितिको बैठक स्थगित, २८ फेब्रुअरीमा चुनाव हुनेमा आंशका

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको आज (शनिबार) डाकिएको बैठक स्थगीत भएको छ । महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्नका लागि पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक आज मध्यान्ह १२ बजे डाकिएको थियो । तर प्रमुख संरक्षक घले अस्वस्थ हुनु भएकाले बैठक स्थगीत गरिएको बुझीएको छ ।

प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन हुन नसकेपछि जनवरी १५ मा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । 

उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र अध्यक्ष कुमार पन्त हुनुहुन्छ ।

आइसिसी बैठकले विवाद समाधान गर्न समितिलाई २६ जनवरीसम्मको समयसीमा तोकिएकोमा उच्चस्तरीय समितिले १० दिनको समय थप्दै दुई जना कानुनी र एक जना आइटी विज्ञ रहेको कार्यदल गठन गरेको थियो । सो कार्यदलले एक साताको अध्ययन पछि अध्यक्ष कुमार पन्त मार्फत उच्चस्तरीय समिति समक्ष २० बुँदे सुझाव प्रतिवेदन पेश गरेको थियो ।

सो प्रतिवेदनका आधारमा आज बस्ने बैठकले संघको महाधिवेशन प्रतिनिधि विवाद बारे अन्तिम निर्णय गर्ने अनुमान गरिए पनि बैठक फेरि सरेको हो ।  समितिको अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।

प्रतिवेदनमा संघको ६५, २५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोटमा रहेको वैधानिक व्यवस्थालाई पूर्ण रुपमा व्याख्या गरेको छ । यस्तै संघको राष्ट्रिय समितिको निर्वाचनका क्रममा देखिएका विवादलाई समेत प्रतिवेदनले समेटेको छ ।

संघले आगामी २८ फेब्रुअरीमा आइसीसीको चुनाव गर्ने घोषणा गरिसकेको छ । तर निर्वाचन आउँन अब तीन सातामात्र बाँकि रहँदा निर्वाचन हुने नहुने भन्नेमा अन्यौल छाएको छ ।


प्रकाशित | २२ माघ २०७८, शनिबार १२:२४