भवन भट्टले एक्कासी किन गरे चुनाव नलड्ने घोषणा ? के अबको नेतृत्व सर्वसम्मत चयन हुँदैछ ?

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले बुधबार राती एक्कासी आगामी कार्यकालको लागि चुनाव नलड्ने घोषणा गर्नुभयो । सबैलाई आश्चर्यचर्कित नै पार्ने गरि अध्यक्ष भट्टले एक्कासी चुनाव नलड्ने घोषणाले विश्वभरीबाट उहाँको प्रशंसाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ । वर्तमान नेतृत्वको पनि जिम्मेवारी वहन गरिरहनु भएको भट्टले महाविधेशन नजिकिंदै गर्दा सामाजिक सञ्जाल (फेसबुक ) मार्फत पुन उम्मेदवार नबन्ने घोषणा गरिरहँदा यसले विभिन्न किसिमका शंका पनि उत्पन्न गराएको छ । केहि दिन अघि मात्र भट्टका सहयोगीले विश्व सन्देशसँग कुराकानी गर्दै कुनै पनि हालतमा नेतृत्व हस्तान्तरणको पक्षमा नरहेको बताइरहँदा केहि रातमै आएको यो परिवर्तनलाई सामान्य अर्थमा हेर्न सकिन्न ।

वर्तमान नेतृत्व गरिरहँदा आगामी नेतृत्वमा दावेदारी छैन भनेर घोषणा गर्नु आवश्यक थियो ? वा थिएन ? कि अघिल्लो कार्यकालमा उपाध्यक्ष कुमार पन्तलाई सहयोग गर्ने प्रतिबद्धताअनुसार चुनाव नलड्ने घोषणा गरिएको हो ? त्यो भने प्रष्ट छैन । आखिर जे भए पनि भट्टले आगामी कार्यकालको लागि उम्मेदवार नबन्ने घोषणा गर्नुले एनआरएनमा नयाँ नेतृत्वको लागि ढोका खोलीदिएको छ । यसलाई सकारात्मक रुपमा पनि हेर्नुपर्छ । तर भट्टले आफूले एनआरएनएनको चालकको सिटबाट पछाडि बसेको, अब आउने नेतृत्व साधन, स्रोत सम्पन्न तथा साहसीक नेतृत्व खोजी गर्ने भन्ने कुरा  गर्नुको पछाडि भित्री कुनै सहमती भएर भट्टले एक्कासी चुनाव नलड्ने घोषणा गरिएको त होइन ? भन्ने प्रश्न पनि उब्जाएको छ ।

एनआरएनमा अहिले कुमार पन्त र कुल आचार्य नेतृत्वको दावेदार हुनुहुन्छ । पन्त दुई कार्यकाल उपाध्यक्ष भइसक्नु भएकाले अबको उहाँको जाने ठाउँ अध्यक्षको विकल्प देखिन्न् । अर्का उपाध्यक्ष आचार्यको एक कार्यकाल उपाध्यक्ष भएकाले पुन उपाध्यक्ष दोहोर्याउने अवसर पनि देखिन्छ । तर भवन भट्टले नेतृत्वको दावीबाट पछि हटेपछि अब एनआरएनएमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना पनि त्यत्तीकै बढेको देखिन्छ । किनकी दुई उपाध्यक्षलाई मिलाएर आगाामी कार्यकालमा कुल आचार्यलाई नेतृत्वमा ल्याउने गरि हाललाई कुमार पन्तलाई नेतृत्वमा सर्वसम्मत गर्ने यो सुनौलो अवसर भने कसैले चुकाउनु हुँदैन । संघको नवौ महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म काठमाडौंमा हुँदैछ ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार ०९:३१