उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाहरु पनि खुला गरि पठनपाठन सञ्चालन हुन थालेको छ । यसैबीच धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सुचारु हुन थालेका छन् । ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्रका शैक्षिक संस्थाहरु सुचारु गर्ने निर्णय गरिसकेकोे छ ।

विद्यार्थीहरु घरमा अनलाइन माध्यमबाट पढ्दा असहज भएको भन्दै आम अभिभावकको गुनासो आएपछि हालको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

स्कुल, कलेज सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड मान्नु अनिवार्य गरेर वडा कार्यालयले अनुमति दिने गरी खुला गरेको उहाँले बताउनुभयो । हालको अवस्थामा सवै शैक्षिक संस्था खोल्न दिने र कोरोनाको संक्रमणको जोखिम बढ्यो भने अर्को निर्णय लिने समेत प्रवक्ता महर्जनको भनाइ छ ।

साथै सामुदायिक विद्यालयमा कोरोनाबाट जोगिनका लागि चाहिने स्वास्थ्य सुरक्षाका सामाग्री महानगरपालिकाले निःशुल्क उपल्वध गराउने निर्णय गरेको समेत प्रवक्ता महर्जनले बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी देशका धेरै ठाउँमा स्कुल, कलेज सुचारु हुन थालेको बताउनुहुन्छ ।

कोरोना जोखिमलाई विचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन हुने क्रम दिन प्रतिदिन बढिरहेको उहाँले बताउनुभयो ।

कक्ष सञ्चालन गर्दा विद्यार्थीको संख्या कम गराएर दुई सिफ्ट र जोर बिजोर प्रणालीबाट सुरु भइरहेको समेत अध्यक्ष पुरीले जानकारी दिनुभयो । दीर्घरोगी बिरामी भएका विद्यार्थीलाई छुट्टै कक्षा र अनलाइन कक्षाबाट सुविधा दिएर पढाइ भइरहेको  उहाँ बताउनुभयो ।

चैत्र महिनाभित्र सेसन सिध्याएर सेसन खेर जान दिन हुन्न भनेर तयारीका साथ धेरै ठाउँमा पढाइ भइरहेको उहाँले जानकारी दिनुभयो । सरकार पनि यसै योजनाका साथ अगाडि बढेको  उहाँको भनाइ छ ।

कक्षा सुचारु भएका ठाउँका विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर पढ्न पाउँदा उत्साहित भएको  अध्यक्ष पुरी बताउनुुहुन्छ ।

कोरोनाको महामारीमा पनि हालसम्म सामुदायिक विद्यालयका विद्यार्थीले ४० देखि ६० र निजी क्षेत्रमा ७५ प्रतिशत विद्याथीले अनलाइन कक्षा लिएको उहाँले जानकारी दिनुभयो ।

यता काठमाडौं महानगरपालिका भने विद्यालय सुचारु गर्ने विषयमा छलफलमा रहेको बताएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान ढंगोल शैक्षिक संस्था सुचारु गर्नुपर्छ भन्नेमा धारणा बनाएको भए तापनि कसरी कुन मापदण्ड अपनाएर खोल्ने भन्ने विषयमा छलफल चलिरहेको र केहि दिनमा निर्णयमा पुग्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अवको कोरोनाको जोखिमलाई पनि सुक्ष्म तरिकाले हेरिरहेको  उहाँ बताउनुहुन्छ । जनस्वास्थ्य विद् डा.शरद वन्त नेपाल कोरोना जोखिममै रहेको बताउनुहुन्छ ।

जोखिममा रहँदा पनि सधैंभरि व्यापार व्यावसाय काम बन्द गरेर यसको समाधानको विषय नभएको उहाँ बताउनुहुन्छ ।

यसैबीच अरु व्यापार व्यावसायसँगै शैक्षिक संस्था पनि सधैभरि बन्द गर्नुपर्छ भन्ने आफनो मान्यता नरहेको जनस्वास्थ्यविद् डा. वन्त बताउनहुन्छ ।

शैक्षिक संस्था सुचारु संगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अतिनै जरुरी हुने उहाँको सुझाब छ । घरदेखि स्कुलसम्मको जाने र फर्कनसम्मको अवस्थामा बढी कसरी सुरक्षित हुन सकिन्छ भनेर सरकारले जारी गरेका मापदण्ड पालना गर्नु अनिवार्य जस्तै रहने उहाँ बताउनुहुन्छ ।

थोरै संख्यामा कक्षा सञ्चालन गर्ने , सिफ्ट वा पहिलाको भन्दा समय घटाएर अर्थात् कसरी सुरक्षित तरिकाले पढाउन सकिन्छ भनेर सचेत भएर सञ्चालन गर्नु र्नेमा उहाँको जोड छ ।
यसको साथै खाजा खाने समयमा पनि विद्यार्थीको भिडभाड हुने भएकोले त्यसमा पनि ध्यान दिन आवश्यक रहेको जनस्वास्थ्य विद् डा. वन्त बताउनुहुन्छ ।

सवै सचेत भएर स्वास्थ्यका मापदण्ड पाल्ना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले मापदण्ड पालना गरे मैरे लागि हो भन्ने सोच्यो भने सुरक्षित रहन सकिने उहाँ बताउनुहुन्छ ।
यस गरी काठमाडौंका शंखमूलका अभिभावक मोतीराज खनाल लामो समयसम्म स्कुल नखुलेका कारण छोराछोरी घरमै अनलाइन कलास पढदा मानसिक रुपमा समस्यामा पर्ने गरेको बताउनुहुन्छ ।

अव लगभग सवै क्षेत्र खुलेको अवस्थामा सबै स्कुल कलेज खोल्न आवश्यक रहेको बताउनुहुन्छ । पार्टी प्यालेस,होटेल, सार्बजनिक यातायात, विवाहको जमघट भएको अवस्थामा शैक्षिक संस्था खुला गर्नुपर्नेमा उहाँको सुझाव छ ।

ज्ञान लिने र दिने ठाउँ नै बन्द हुन नहुनेमा अभिभावक खनाल बताउनुहुन्छ । देशका धेरै ठाउँका शैक्षिक संस्था खुलेको अवस्थामा काठमाडौंमा पनि खुला गर्न उहाँको सुझाव छ ।

खुला भए संगै कोरोनाबाट बच्न अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्डलाई भने कडाइका साथ लागु गर्न आवश्यक रहेको उहाँको भनाइ छ । गोरखापत्र दैनीक


प्रकाशित | २८ मंसिर २०७७, आईतवार ०८:३१