जापान केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजान तयार

गोपाल सग्रौला /काठमाडौं

नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी ) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छफफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ गते श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाई क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन् । नेपाल र जापानबीच समझदारीमा विभिन्न १४ क्षेत्रमा नेपाली कामदार माग गर्ने जनाइए पनि नर्सिङ र सफाई क्षेत्रमा नेपाली कामदार लैजाने सम्बन्धमा छलफल सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकोे छ ।

जापानमा वृद्धवुद्धा तथा अशक्त नागरिकको स्याहारसुसारका लागि जनशक्तिको बढ्दो अभाव रहेका कारण यस क्षेत्रमा काम गर्न सक्ने नेपाली युवा खोज्दै जापानी रोजगारदाता नेपाल आउन थालेका छन् । “जापानका सफाई र नर्सिङ क्षेत्रमा काम गर्न सक्ने दक्ष नेपाली युवा खोज्दै जापानी रोजगादाता नेपाल आउन थालेका छन्,” मन्त्रालयको उच्च स्रोत भन्यो, “जापानमा नेपाली युवा माग गर्ने सम्बन्धमा एक टोलीले बुधबार श्रम मन्त्रालयका टोलीसँग छलफल गर्ने तयारी गरेको छ ।”

मन्त्रालयका अनुसार जापानले नर्सलगायत केयर गिभरसम्बन्धी तालिम लिएका नेपाली युवालाई माग गर्ने विषयमा चासो देखाएका छन् । यसैगरी नेपालस्थित जापानी दूतावासको संयोजनमा ठूलो क्लिनिङ कम्पनीले नेपाली कामदार लैजाने सम्बन्धमा छलफल गर्ने भएको छ ।

नेपाल र जापान सरकारले कस्ता नेपाली श्रमिक लिने सम्बन्धमा छलफल पूरा गरिनसकेको भए पनि रोजगारदाता भने नेपाल सरकारसँग छलफल गर्न नेपाल आउन थालेका छन् । जापानी रोजगारदाताले नेपाल सरकारसँग श्रमिक माग गर्ने सम्बन्धमा छलफल अगाडि बढाए पनि माग भने दुई सरकारबीचको सम्झदारीअनुसार नेपाली दूतावासमार्पmत माग प्रमाणीकरण गर्नुपर्ने छ ।

सन २०१९ को अप्रिल १ देखी जापानले १४ कार्यक्षेत्रहरू कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सूचना–प्रविधि उद्योग, बिल्डिङ सरसफाई व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवम हवाई उद्योगमा श्रमिकहरू लिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नेपाली श्रमिकलाई १४ वटै क्षेत्रमा खुला गरिएको भए पनि कुन कुन क्षेत्रमा के कति संख्यामा नेपाली श्रमिकहरूको माग हुने भन्ने विषय निश्चित हुन बाकी रहेको छ ।

जापानले नेपालबाट एसएसडब्लूअन्तर्गत पहिलो र दोस्रो वर्गका एसएसडब्लू श्रमिकहरू लिने जनाएको छ । पहिलो वर्गका एसएसडब्लू श्रमिकहरूका लागि सीप वा सम्बन्धित कार्य क्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिक कम्तिमा ५ वर्षसम्म जापान बस्नसक्ने प्रावधान छ । दोस्रो वर्गका एसएसडब्लूका श्रमिकहरूका लागि उच्च तहको सीप आवश्यक पर्नेछ भने त्यस्ता श्रमिकको कार्यअवधि ५ वर्षभन्दा बढी थप गर्न सकिने प्रावधान रहेको छ । दोस्रो तहका श्रमिकहरूले परिवारका सदस्यहरूलाई समेत जापान लैजान सक्ने व्यवस्था रहेको छ

जापान सरकारले ७५ वर्ष भन्दा बढी उमेरका वृद्धवृद्धाको संख्यालाई अनुमान गरेर सन २०२५ सम्म ३ लाख ४० हजार विदेशी केयर गिभरको आवश्यकता हुने अनुमान गरेको छ । जापानले अप्रिलबाट लागू गरेको विदेशी कामदार माग गर्ने सम्बन्धमा गरेको नीतिगत निर्णयबाट ५ वर्षका लागि ३ लाख ४५ हजार विदेशी श्रमिक लिने निर्णय कार्यान्वयन गरिसकेको छ ।

जापानमा विगत लामो समयदेखि वृद्धवृद्धाको संख्या बढ्दै गएपछि ९ देश मध्ये केयर गिभरका लागि नेपाली श्रमिक लैजाने नीति लिएर छलफल अगाडि बढाएको हो । जापानमा विगत ५ वर्षयता केयर गिभरसम्बन्धी अध्ययन गर्ने युवाको संख्या ५ हजार ७१४ जनाले कमी आएको जनाउँदै सो कमीलाई पूरा गर्न विदेशी कामदार लैजाने जनाएको छ । हाल जापानका अध्ययनका लागि गएका भियतनाम, चीन, नेपाल, इन्डानेसिया र फिलिपिन्सका विद्यार्थीले केयर गिभरको क्षेत्रमा काम गरिरहेका छन् ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०९:१२