एनआरएनएको उम्मेदवारी दर्ता तीन दिन पछि सारियो

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी २१-२२ मार्चमा हुन गइरहेको निर्वाचनको कार्यतालिकामा फेरबदल गरिएको छ । निर्वाचन समितिले बिहीबार एक विज्ञप्ति जारी गरि निर्वाचन कार्यतालिकामा संशोधन गरेको हो ।

प्रमुख निर्वाचन अधिकृत भिमसेन बंजराले जारी गरेको विज्ञप्ति अनुसार अन्तिम मतदाता नामावली प्रकाशन यही ७ तारिखमा पुर्याइएको छ ।  साथै यसअघि ४ तारिखमा तोकिएको उम्मेदवारी दर्ता पनि तीन दिन पछि सार्दै ७ मार्च बिहान ११ बजेदेखि ८ मार्च ५ बजेसम्म तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, उम्मेदवारको पहिलो नामावली प्रकाशन ८ तारिख साँझ ७ बजे, उम्मेदवारी विरुद्ध दावी विरोध मार्च ९ देखि १० मार्चको बिहान १० बजे सम्म, उम्मेदवारहरुको मनोनयनपत्रको जाँच तथा उजुरी उपर निर्णय मार्च १० को दिउँसो १ बजेसम्म, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो २ बजेसम्म, उम्मेदवारी फीर्ता मार्च १० को ३ बजेदेखि मार्च ११ को साँझ ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मार्च १२ को साँझ ५ बजे तोकिएको हो ।

यसअघि बुधबारको एनआरएनए केन्द्रीय समिति बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिएकाले शुल्क उठाउने प्रयासस्वस्प अन्तिम पटक निर्वाचन कार्यतालिकामा संशोधन गरिएको जनाइएको छ ।

प्रवक्ता डिवी क्षेत्रीद्धारा जारी विज्ञप्तिमा भनीएको छ, ‘उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ । नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ।’


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार २०:३८