अध्ययनमै बाहिरियो वर्षमा ४० अर्ब , ६० प्रतिशत अस्ट्रेलियामा

काठमाडौं : आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि वृद्धि भइरहेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार गत ११ महिनामा ४० अर्ब नौ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १९।७ प्रतिशत बढी हो । वर्ष ०७४र०७५ को ११ महिनामा शिक्षाका नाममा ३४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ बाहिरिएको थियो ।

वैदेशिक अध्ययनका लागि वर्ष ०७४र७५ मा कुल ३८ अर्ब आठ करोड ९५ लाख र ०७३र७४ मा जम्मा ३५ अर्ब दुई करोड ४९ लाख बाहिरिएको थियो । यो वर्ष ६३ हजार दुई सय ५९ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । जसमध्ये ६० प्रतिशत अस्ट्रेलियाका लागि रहेको शिक्षा मन्त्रालयले जनाएको छ । यो समाचार आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य अस्ट्रेलिया बन्ने गरेको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार १ साउन ०७५ देखि ३१ असार ०७६ सम्म जारी भएका ६३ हजार दुई सय ५९ एनओसीमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका लागि ३६ हजार तीन सय २४ छन् । यद्यपि, एनओसी लिने शतप्रतिशत विद्यार्थी बाहिरिँदैनन् ।

अस्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाइमा पर्ने गन्तव्यमा क्रमशः जापान, साइप्रस, भारत, चीन, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स छन् । एनओसी संख्याका आधारमा भारत तेस्रो प्रमुख गन्तव्य देखिन्छ । तर, अधिकांश विद्यार्थी एनओसीविनै भारत पढ्न जाने हुनाले यसकोे यकिन विवरण छैन ।

आर्थिक वर्ष ०७५र७६ मा नेपाली विद्यार्थीले ६९ देशका लागि अध्ययन अनुमति लिएका छन् । ब्रुनाई, हङकङ, केन्या, कुवेत, रोमानिया, स्लोभेनिया, श्रीलंका, तान्जानिया, युक्रेनका लागि भने एक–एकजना विद्यार्थीले मात्र एनओसी लिएका छन् ।


प्रकाशित | ७ श्रावण २०७६, मंगलवार ०९:२४