नेपालीको प्रतिव्यक्ति आय एक हजार ३४ डलर, गत वर्षको तुलनामा २६ डलर वृद्धि

काठमाडौं: नेपालीको प्रतिव्यक्ति आय बढेको छ । गत वर्ष भन्दा २६ डलर आयमा वृद्धि  भएर वार्षिक एक हजार ३४ अमेरिकी डलर पुगेको छ। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो।

त्यस्तै, यो वर्ष आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहने विभागको अनुमान छ। यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको थियो। नेपालको कुलग्राहस्थ उत्पादन ३४ खर्ब रुपैयाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ। कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ।

चालू आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय १०४७ अमेरिकी डलर पुग्ने विभागको प्रक्षेपण छ । गत आर्थिक वर्षमा १००४ अमेरिकी डलर रहेको नेपालीको औसत आय यो वर्षमा १०७४ डलर पुग्ने प्रक्षेपण राष्ट्रिय योजना आयोगले गरेको थियो ।
केन्द्रीय तथ्यांक विभागले आगामी पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरेको छ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १६:३७