नेयमर नाम कुशल फुटबलर सँगै बदनाम

एजेन्सी : ब्राजिली क्लब सान्तोसबाट प्रभावशाली प्रदर्शन गरिरहेका ठिटो नेयमरलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबहरूबीच खुबै होड चलेको थियो  । सन् २०१३ मेको त्यो प्रतिस्पर्धामा बाजी मारेको थियो बार्सिलोनाले  ।

उनका लागि क्याटलन क्लबले ५ करोड ७१ लाख युरो तिरेको थियो । स्पेनी ला लिगामा बार्सिलोनाको चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडले ६ करोड बढी तिर्ने प्रस्ताव गरे पनि नेयमरले क्याम्प नु रोजे ।

फरवार्ड, विंगर र आक्रमक मिडफिल्डरको भूमिकामा मजाले खेल्न सक्ने नेयमर  पहिलो सिजन २०१४–१५ मा गर्दै बार्सिलोनालाई ऐतिहासिक रूपमा ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि दिलाए । त्यसमा सुधार गर्दै २०१५–१६ मा लिग, कोपा डेल रे, क्लब विश्वकप र यूईएफए सुपरकप जिताए ।

आक्रामक खेलले विश्व फुटबलमा तहल्का मच्चाइरहेको बेला नेयमरले बार्सिलोना छाड्ने समाचार आए । सुरुमा यो समाचार हल्लाजस्तै थियो, फैलियो । बार्सिलोनामा नेयमरकै सहकर्मीहरूले पनि त्यसलाई हल्ला नै माने । केही दिनमै यो सत्य सावित भयो । नेयमर कीर्तिमानी २२ करोड २० लाख युरोमा  फ्रान्सेली क्लब पीएसजी मा सन् २०१७ मा अनुबन्धित भए । वास्तवमा उनको त्यो स्थानान्तरण आश्चर्य नै थियो । किनभने विश्व फुटबलमा फ्रान्सेली लिग वानलाई शीर्ष प्रतियोगिता मानिदैन । इंग्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा, जर्मन बुन्डेस लिगा र इटालीको सिरि ‘ए’ पछि मात्रै फ्रान्सको लिग वानलाई हेरिन्छ ।

नेयमरले स्पेन छाड्नु ला लिगाका लागि पनि घाटा थियो । कारण त्यसबेला मेसी र क्रिस्टियनो रोनाल्डोपछिका स्टार खेलाडी नेयमर नै थिए । गत वर्षमात्रै रोनाल्डोले रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस् रोजे । त्यसअघि म्याड्रिडमा छँदा रोनाल्डो र बार्साका मेसीको प्रतिस्पर्धाले स्पेनी लिगलाई रोमाञ्चक बनाउने गरेको थियो । नेयमर स्टार खेलाडी हुन् । तर उनी मेसी र रोनाल्डोको दाँजोमा उभिएका थिएनन्, छैनन् पनि ।

खेल र चर्चाको हिसाबले बार्सामा मेसीको छायामा परेका थिए, नेयमर । त्यो छायाबाट उम्किँदै सुपरस्टार बन्नका लागि उनले बार्सा छाडेका थिए । उनको पीएसजी रोजाइ सही निर्णय थिएन । पीएसजीले च्याम्पियन्स लिग जित्नका लागि नेयमरलाई आबद्ध गरेको थिए । तर, पीएसजी अन्तिम आठमै रोकिँदै आएको छ ।

पेरिस पुगेयता नेयमरलाई चोटले पनि सतायो । पीएसजीको अग्रपंक्तिमा किलियन एम्बाप्पे र एडिन्सन कभानीको प्रभाव उनको भन्दा कम छैन । त्यसैले हुन सक्छ, नेयमरले बार्सिलोना फर्कन चाहेका छन् । पीएसजीका अध्यक्ष नासेर अल–खेलाफीले स्टार होइन, टिमको कार्यक्रमप्रति बफादार खेलाडीलाई मात्रै क्लबमा बस्न भनेका छन् । तर अहिले नेइमारको भविष्य अनिश्चित वनेको छ ।

किशोर उमेरमै सनसनी मच्चाएका नेयमरले सान्तोसमा दक्षिण अमेरिकी च्याम्पियनसहित ६ उपाधि जितेका थिए । पीएसजीमा अनुबन्ध भएपछि नै नेयमरको खराब दिन सुरु भयो । दुईपल्ट चोट लागेपछि महिनौं मैदानबाहिरै रहे । उनी चोटमुक्त भएर लयमै फर्किएका थिए ब्राजिली टिममा । त्यसैले ब्राजिललाई विश्वकप २०१८ मा सबभन्दा बलियो टिमको रूपमा लिइएको थियो तर क्वाटरफाइनलबाटै बाहिरियो । रुसको मैदानमा नेयमरको खेलभन्दा बढी लडीबुडी गर्ने नाटक हिट भयो । मैत्रीपूर्ण खेलमा चोट लागेपछि उनले अहिले ब्राजिलमै भइरहेको कोपा अमेरिका खेल्ने अवसर पनि गुमाए ।

गत सिजन च्याम्पियन्स लिगमा अफिसियललाई दुर्व्यवहार गरेपछि तीन खेलमा निलम्बनमा परे । उनले फ्रान्समा लिग कपको फाइनल हारेपछि दर्शकलाई मुक्का प्रहार गरे । पेरिसमा बलात्कार गरेको आरोपमा मुद्दा पनि पर्‍यो । त्यसमा उनलाई केटीले थप्पड हानेको भिडियो भाइरल नै भयो । विवादित भएपछि उनलाई केही ठूला व्यावसायिक कम्पनीले पनि छाडेका छन् । बलात्कार गरेको प्रमाणित भएमा उनको करिअर र कमाइ दुवै चौपट हुन सक्छ । नेयमर पीएसजी पुगेयता राम्रोभन्दा पनि बढी गलत कार्यले चर्चामा आइरहेका छन् ।


प्रकाशित | ६ श्रावण २०७६, सोमबार १३:२५