उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए

बेरुत, २७ असार (रासस-एएफपी) :  सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् ।

सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ । राष्ट्रसंघका अनुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीमाथि पनि लक्षित गरी हवाई आक्रमण भएका छन् ।

सिरियाको गृहयुद्धमा हालसम्म तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सन् २०११ देखि शुरु भएको यस गृहयुद्धबाट लाखौं मानिस अन्यत्र पलायन भएका वा शरणार्थी भएका छन् ।

अब्जरभेटरीले बुधबारदेखि जारी पछिल्लो भिडन्तमा कम्तीमा ५७ जना सुरक्षाकर्मी र ४४ जना जिहादी मारिएको जनाएको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले हामा प्रान्तको उत्तर समेतका हायात तहरिर अल–शामले नियन्त्रण गरिराखेका क्षेत्रमा सरकारी फौजले भिषण हवाई हमला जारी राखेको बताउनुभयो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानवबस्तीमा भएका हवाई हमलाको निन्दा गर्दै नागरिक र नागरिकको सेवाका लागि स्थापित पूर्वाधार, स्वास्थ्य केन्द्रहरुलाई सुरक्षित तुल्याउनु सबैको कर्तव्य रहेको बताउनुभएको छ ।


प्रकाशित | २७ असार २०७६, शुक्रबार १२:२४