नियन्त्रणमा आएन टाइफाइड : बिरामी बढ्दै, औषधि घट्दै, स्वास्थकर्मी नै थला परे

डोल्पा: डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो ।

बिरामीको चाप बडेपछि १५ श्ययाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराइरहेको जिल्ला अस्पतालले जनाएको छ । केही दिन अगाडि मात्रै २१ जना बिरामीले बेडमै उपचार गराइरहेका थिए ।

दैनिक उपचार गराउन आएका चारदेखि पाँच जना बिरामीमध्ये दुईदेखि तीन जनालाई बेडमै राखेर उपचार गराउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । बिरामी हुनेमा अधिकांश ठूलीभेरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारण रहेका छन् ।

अस्पतालमा पर्याप्त बेड नहुँदा १५ जनालाई बेडमा र १० जनालाई भुइँमै राखेर उपचार गराइरहेको डाक्टर सिजन रावलले जानकारी दिनुभयो । बेड नहुँदा जिल्ला अस्पतालमा कार्यरत अस्पताल क्वाटरमा बस्दै आएका स्वास्थकर्मीको बेड ल्याएर उपचार गराइरहको उहाँले बताउनुभयो ।

प्रकोप नियन्त्रणका लागि प्रदेश र केन्द्रमा समेत जानकारी गराइसकिएको डा रावलले बताउनुभयो । दिनहुँ बिरामी बड्दै गए टाइफाइडले ठूलो रुप लिनसक्ने खतरा रहेको बताउँदै रोकथामका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्ने डा रावलको भनाइ छ ।

तीन दिनदेखि जहाज नआएपछि प्रदेश सरकारले पठाएको औषधि नेपालगञ्जमै रोकिएको छ । बिरामीको चाप बड्दै गएकाले औषधि भने सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

स्वास्थकर्मी नै थला परे

डोल्पामा फैलिँदै गएको टाइफाइडको प्रकोपले सर्वसाधारण मात्र होइन स्वास्थकर्मीसमेत थला परेका छन् । दैनिक टाइफाइडका बिरामीका उपचारमा लागि खटिएका एक दर्जन डाक्टर, नर्स र अन्य कर्मचारी आफैँ टाइफाइडले थलिएका छन् ।

प्रत्येक दिन अस्पतालमा भर्ना हुने टाइफाइडका बिरामीसँगै अस्पतालाका स्वास्थ्यकर्मीसमेत थला पर्न थालेपछि उपचार गर्ने कर्मचारीहरुको कमी हुँदै गएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत दुई जना चिकित्सकमध्ये डा भिमबहादुर बुढा बिरामी परेका छन् । त्यसैगरी परिचारिका दिलु बुढा, सिएमएम गङ्गा ओझा, अनमी पुष्पा ओली, झुमा हमाल, ल्याब असिष्टेन्ट कञ्चन रोकाया, अहेब दिलीप रोकायालगायत एक दर्जन कर्मचारी आफैँ बिरामी परेका छन् ।

टाइफाइडका कारण स्वास्थका कर्मचारी नै थला परेपछि उपचारमा समस्या भएको छ भने ओपीडी कक्ष २४ घण्टा एउटै कर्मचारीले धानेका छन् । जिल्लाका विभिन्न स्वास्थ चौकीबाट काजमा कर्मचारी खटाउनका लागि पत्राचार गरिएको डाक्टर रावलले जानकारी दिनुभयो ।

दूषित पानीका कारण रोग फैलँदै गएकाले पानी शुद्धिकरण गरेर मात्र खान चिकित्कले सुझाव दिएका छन् । टाइफाइडको प्रकोप नियन्त्रणका लागि जिल्ला उद्योग बाणिज्य सङ्घको पहलमा पानी शुद्धिकरणका लागि एक घरलाई एक महीना पुग्ने पियुस मगाएर वितरण गर्न लागेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

तीन दिनदेखि उडान नहुँदा पियुस नेपालगञ्जमा आएर थन्किएको समेत उहाँले बताउनुभयो । अन्य ठाउँभन्दा वडा नं ३ मा टाइफाइडका बिरामी धेरै भएकाले पियुस आएपछि प्रत्येक घरधुरीमा वितरण गरिने प्रजिअ केशरीले जानकारी दिनुभयो । अन्य नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्यका कर्मचारीलाई जिल्ला अस्पतालमा काजमा खटाउनसमेत पहल गरिरहेको बताइएको छ ।


प्रकाशित | २६ असार २०७६, बिहीबार १८:२५