एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

काठमाडौं: जिल्लाको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा रमेश रावतले लेख्नुभएको छ ।

छोरीको भ्रुणमै हत्या गर्ने वा छोराका लागि धेरै छोरी जन्माउने क्रम बढेपछि नीति तथा कार्यक्रममै पुरस्कारको व्यवस्था गरिएको नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताउनुभयो । ‘एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गरे एक लाख पुरस्कार दिने व्यवस्था गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘छोरी नै छोरासरह भएको सन्देश दिन यस्तो कार्यक्रम ल्याइएको हो । यसले लैंगिक समानता कायम गर्दै छोरीको भ्रुणहत्या रोकिनेछ ।’ छात्रवृत्ति प्रोत्साहनस्वरूप दिने यो रकमले अभिभावकलाई छोरी पढाउन सहज हुने विश्वास पनि नगरपालिकाको छ ।

देशका विकट क्षेत्रमा छोराको रहरमा धेरै सन्तान जन्माउँदा आमाको ज्यानसमेत जोखिममा परेका धेरै घटना छन् । कालिकोटमा यो दर झन् बढी रहेकाले रोक्न पहल गरिएको नगरप्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । ‘छोरा जन्माउने आसमा धेरै महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । नयाँ कार्यक्रमले छोरी पनि छोरासरह हुन् भन्ने सन्देश जान्छ,’ उहाँले भन्नुभयो ।


प्रकाशित | २५ असार २०७६, बुधबार ०७:३८