५० लाखको ‘कमेडी च्याम्पियन’ दर्शकमाझ आउँदै

काठमाडौं : ‘कमेडी च्याम्पियन’ दर्शकमाझ आउने भएको छ। गाईजात्राको अवसरा पारेर आउन लागेको कमेडी रियालिटी सोलाई ‘३ प्रोडक्सन’ ले निर्माण गर्न लागेको हो। निर्देशक विशाल भण्डारीले अडिसनको तयारीमा भइरहेको जानकारी गराउनुभयो ।

भण्डारीका अनुसार प्रतियोगितामा हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन्। निर्देशक भण्डारीका अनुसार कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पियनको एप्स मोबाइलमा डाउनलोड गर्न सकिन्छ । त्यसपछि नेपालबाट सम्पादन नगरिएको तीन मिनेटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट पाँच मिनेटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पने निर्देशक भण्डारीले बताउनुभयो ।

यिनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरूले विभिन्न सहरमा कमेडी च्यम्पियनसिपको अडिसनमा सहभागी हुन पाउनेछन्। अडिसनबाट चयन भएकाहरूमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी दिनुभयो ।

उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पियन घोषणा गरिनेछ। कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आइडलकी सञ्चालिक रीमा विश्वकर्माले सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । सान थापाले लेख्ने यो कमेडी च्याम्पियनको निर्मातामा अभिनेत्री केकी अधिकारीसहित राज घिमिरे र सृजा थपलिया रहने आयोजकले जनाएको छ ।


प्रकाशित | २५ असार २०७६, बुधबार ०७:१०