नेपालमा धेरै जनसङ्ख्या भएको जाति क्षेत्री (विवरणसहित)

काठमाण्डौ – राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।

जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको कार्यालयले जनाएको छ । २०६८ को जनगणनामा जातजाति १ सय २५ रहेकामा अहिले १७ थप भएको छ ।

कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार १ सय २३ वटा मातृभाषा थिए । अहिले अन्य भाषा समेत जोडेर मातृभाषाको सङ्ख्या एक सय २४ कायम गरेको छ । १२ वटा विदेशी भाषा बोल्ने एकदमै न्यून व्यक्तिहरुको संख्या र अहिले नयाँ थप भएका १३ वटा समेतलाई जोडेर अन्य भाषाुमा राखिएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा नेपालमा ८१ प्रतिशतले हिन्दु धर्म मान्ने मानिस रहेको देखाएको छ । मुख्यत नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको सार्वजनिक नतिजामा उल्लेख छ । कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९) प्रतिशतले हिन्दु धर्म मान्ने तथ्यांक देखिएको छ ।

यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१) प्रतिशतले बौद्ध धर्म मान्ने रहेका छन् ।

त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।


प्रकाशित | २० जेष्ठ २०८०, शनिबार ०७:४५