काठमाण्डौं फन भ्यालीद्धारा लाखौ कर छली

रमेश गिरी /भक्तपुर

सूर्यविनायक नगरपालिका १० पलाँसेमा संचालित काठमाण्डौ फन भ्यालीले लाखौ रुपैयाको कर छली गरेको पाईएको छ । काठमाण्डौ फन भ्याली कम्पनीको नाममा बिल काट्नु पर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाईएको हो ।

काठमाण्डौं फन भ्यालीको नाममा दर्ता भई संचालनमा रहेको उक्त कम्पनीले कर छलि गर्न विद्यालयहरुलाई भने उक्त कम्पनीको बिल नदिई कर छली गर्दै ‘वाटर वर्ड ट्रेडर्स प्रा.ली.’ को नाममा लाखौ रुपैयाको बिल काटेर कर छलि गरेको पाईएको बताईएको छ । दोहोरो बिल बनाएर व्यापक रुपमा कर छलि गरेको पाईएपछि आन्तरिक राजश्व कार्यालय भक्तपुरले काठमाण्डौ फन भ्यालीमा छापा मारेको छ ।

फन भ्यालीले सयौ विद्यालयका हजारौ विद्यार्थीहरुलाई दर्ता विनाको नक्कली बिल दिएर लाखौ रुपैया कर छली गरेको उजुरी परेपछि कार्यालयले काठमाडौं फन् भ्यालीमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको हो ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले आज यसबारे जानकारी दिदै कार्यालयमा उजुरी आएपछि काठमाण्डौ फन भ्यालीको विभिन्न कागजपत्र नियन्त्रणमा लिएर छानबिन सुरु गरेको बताउनुभयो । छानबिन सकिए पछि बास्तविक सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएर गएको स्वीकार्दै कल छली भने नगरेको दाबी गर्नुभयो ।

काठमाण्डौं फन भ्यालीले प्रदुषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गा समेत मिचेर दुरुपयोग गरेपछि यसअघि सूनपा वडा नं. १० ले समेत कारबाहीका लागि पत्राचार गरेको थियो ।

स्थानीयले वडा अध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयहरुले हस्ताक्षर गर्दै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठुला ठुला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानीय स्वास्थ्यसँंग खेलवाड गरेको र रसायन युक्त पानी पुनः सोही खोलमामा फ्याक्ने गरेकाले पानीको श्रोत समेत दुषित पारेको भन्दै कारबाहीको माग गरेका थिए ।


प्रकाशित | २४ असार २०७६, मंगलवार १८:२८