गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयर,फ्लाई दुबई, ओमन एयर,जजिरा र गल्फ एयरले उडान गर्ने

काठमाडौं: भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ ।

परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ । वैशाख ९ गतेदेखि पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने प्राधिकरणले जनाएको छ ।

बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सिधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ ।

विमानस्थलमा व्यावसायिक उडान गर्न पाँच मुलुकका ११ भन्दा बढी कम्पनीले चासो देखाएका छन् । ती विमान सेवा कम्पनीमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर रहेका छन् ।

व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलो पटक हप्ताको सातै दिन उडान गर्नेछ । प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको हो ।

जजिरा एयरवेजले हाल काठमाडौँ–कुवेत दैनिक उडान गर्दै आएको छ । विशेषगरी नेपाली श्रमिकका गन्तव्य मुलुकका हवाई कम्पनीको चासो बढी नै छ ।


प्रकाशित | १९ चैत्र २०७८, शनिबार १०:५६