करेन्ट लागेर युवकको मृत्यु

अछाम : अछामको कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा आज साँझ स्थानीय नरजीत जनालाका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर ज्यान गएको छ । रोपाइँ सकेर घर आउने क्रममा विद्युत्को पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यही गएका विकासलाई एक्कासि ढलेको र उनको शरीरमा आगलागी भएको मृतकका काका धनबहादुर जनालाले जानकारी दिनुभयो । पाली नजीक बगिरहेको पानीमा हिँड्ने बेला करेन्ट लागेकाले पोलबाट विद्युत् प्रवाह भएको अनुमान गरिएको छ ।

करेन्ट लागेपछि आगोसमेत सल्केको र विकासको दुवै खुट्टासमेत जलेको धनबहादुरले बताउनुभयो । करेन्टबाट विकासँगै एक गोरु पनि मरेको उहाँले जानकारी दिनुभयो । घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।


प्रकाशित | २३ असार २०७६, सोमबार ०९:५३