तीन घण्टामै कोरोना परिक्षण गर्न सकिने २ हजार किट्स कोरियाबाट नेपाल पठाउँदैछौ: यज्ञराज सुवेदी

कोरियामा ‘एक नेपाली, एक किट नेपाल पठाऊ अभियान’, ५० लाख वरावरको स्वास्थ्य सामाग्री पठाउने तयारी

सिओल (कोरिया) : कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिइरहेको बेला कोरियामा रहनु भएको प्रवासी नेपालीहरु नेपालको विपत्तिमा सहयोगको लागि जुटिरहनु भएको छ । कोरियामा कोरोना भाइरस फैलिएसँगै कोरियामा बसोबास गरिरहेका नेपालीलाई सचेतना जगाउनेदेखि विभिन्न सहयोगी हातहरु फैलाइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाले नेपाललाई तीन घन्टामै कोरोना परिक्षण गर्न सकिने कोरोना परिक्षण गर्ने २ हजार टेष्ट किट नेपाल पठाउन लागेको हो ।

एनआरएनए कोरिया अध्यक्ष यज्ञराज सुवेदीका अनुसार एनआरएनए कोरियाले नेपाललाई २ हजार टेष्ट किटसहित चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउन लागिएको हो ।

अध्यक्ष सुदेवीले कोरियामा ठूलो परिणामा मेडिकल सामानहरु खरिद गरेर विदेश पठाउन नपाइने भएपनि स्थानीय सरकारसँग अनुमती लिएर खरिद प्रक्रिया अगाडि बढाउँदै अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउन लागिएको बताउनुभयो ।

कोरियाले छोटो समयमा यही प्रविधीबाट कोरोना भाइरस नियन्त्रणमा ल्याएकाले नेपालमा पनि यही प्रविधि प्रयोगमा ल्याएर भाइरस नियन्त्रणमा ल्याउन सकिन्छ कि भन्ने उद्देश्य राखी स्वास्थ्य सामाग्री खरिद गरि नेपाल पठाउन लागिएको बताउनुभयो ।

No photo description available.

कोरियामा प्रति किट्स २० ( २०००० वोन) डलरमा नेपालमा प्रयोग हुन सक्ने र तीन घण्टामा रिजल्ट दिन सक्ने समेत अध्यक्ष सुवेदीले बताउनुभयो । चीनपछि कोरियाले शत प्रतिशत कोरोना भाइरस नियन्त्रण ल्याउन सकेको भन्दै अध्यक्ष सुवेदीले कोरियाको प्रविधिले नेपालमा नियन्त्रणमा आउँन सके नेपाल सरकारसँग मिलेर थप स्वास्थ्य सामाग्री समेत पठाउन सकिने बताउनुभयो ।

अध्यक्ष सुवेदीले कोरियाको अभियान पनि एनआरएनए केन्द्रकै एक अभियान भएको बताउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आर्थिक सहयोग भन्दा स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन आग्रह गर्नुभएपछि कोरियाले पनि सामान पठाउन लागिएको बताउनुभयो ।

‘एक नेपाली एक किट नेपाल पठाऊ’ अभियान

नेपालमा कोरोना भाइरस परिक्षण गर्ने टेष्ट किटको लागि कोरियामा एक ब्यक्ति एक किट्स अभियान सञ्चालन भइरहेको छ । कोरियामा रहनुहुने ४०, ००० नेपाली मध्ये २,००० जनाले मात्र एक किट्सको दरले सहयोग गर्नु भएमा पनि नेपालमा हालको समस्यामा केहि राहत पुर्याउन सकिन्छ भन्ने उद्देश्यले यस्तो अभियान थालीएको अध्यक्ष सुवेदीको भनाइ छ । जसको लागि कोरियाबासी नेपाली समुदायमा सहयोगको लागि अपिल भइरहेको र अपिल भएसँगै सहयोग संकलन हुने क्रम जारी छ ।

५० लाख वरावरको स्वास्थ्य सामाग्री पठाउने तयारी

एनआरएनए कोरियाले नेपाललाई झन्डै ५० लाख वरावरको स्वास्थ्य सामाग्री पठाउने लक्ष्य लिएअनुसार पछिल्लो २४ घण्टाको अवधिमा संकलित सहयोग रकमबाट लगभग १००० गोटा किट्स खरिदका लागि रकम संकलन भइसकेको छ । अध्यक्ष सुवेदीका अनुसार अभियान जारी राख्दै तत्कालको लागि ५० लाख वरावरको स्वास्थ्य सामाग्री नेपाल पठाउने तयारी भइरहेको हो । तर अध्यक्ष सुवेदीले ती सामान नेपाल लग्न कुनै साधन नभएकोले सरकारसँग समन्वय भइरहेको पनि बताउनुभयो ।


प्रकाशित | १३ चैत्र २०७६, बिहीबार १५:२९