मलेसियासहित खाडीका ६७ वटा कम्पनी कालोसूचीमा : नेपाली कामदार लैजान रोक

काठमाण्डौ : मलेसियासहित खाडीका ६७ कम्पनी कालोसूचीमा परेका छन् । वैदेशिक रोजगार विभागले खाडीका देश र मलेसियाका विभिन्न ६७ वटा कम्पनीलाई कलोसूचीमा राख्दै नेपाली कामदार लैजान रोक लगाएको हो । विभागले कम्पनीले लगेका कामदारलाई सम्झौता अनुसार सेवासुविधा नदिएको र सम्झौता पालना नगरेपछि कम्पनीलाई कालोसूचीमा राखेर कामदार लान रोक लगाएको जनाएको छ । गएका व्यक्तिले समस्या परेर दिएको उजुरीका आधारमा विभागले कालोसूचीमा राख्ने गरेको छ ।

कालोसूचीमा राखेका कम्पनीका लागि विभागले श्रम स्वीकृति दिँदैन । कालोसूचीमा परेका कम्पनीमा म्यानपावरले पनि कामदार पठाउन पाउने छैनन् । नेपालमा भनिएको सम्झौता अनुसारको काम र सेवा सुविधा नपाएको गुनासो बढेपछि विभागले धेरै गुनासो आएका कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने कम्पनीहरु मलेसिया, साउदी अरब, कतार र युएईका छन् । सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी विभागको कालोसूचीमा छन् । त्यस्तै युएईका ६, साउदी अरबका ५ र कतारका ४ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ०७:४३