प्रधानमन्त्री रोजगार कार्यक्रमको रहरलाग्दो काम

इलाम : युवालाई स्वरोजगार बनाउने अभियानमा सघाउ पु¥याउन शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ यहाँस्थित सूर्योदय नगरपालिकामा भने उल्लेखनीय काम भएको पाइएको छ । धेरैजसो स्थानीय तहमा यो कार्यक्रमलाई ‘असारे विकास’को आरोप लगाइए पनि यहाँ भने नगरले उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा दीर्घकालीन विकासमा रकम खर्चेको छ । नगरले यो कार्यक्रमको रकम पोखरी निर्माण र वृक्षरोपणमा लगाएको छ ।

कामको ‘झारो टारेर’ बजेटसक्ने भन्दा पनि दीर्घकालीन विकासमा बजेट खर्चिदाँ कामको प्रगति उल्लेखनीय पाइएको छ । नगरले यो कार्यक्रम अन्तर्गत तीन वटा कार्यक्रममा बजेट छुट्याएको छ । सूर्योदय– १ स्थित गोर्खेमा वृक्षरोपण कार्यक्रम, वडा नं– ४ को शिवालय क्षेत्रको सीमसार क्षेत्र बचाउन कार्यक्रम र वडा नं– ३ स्थित लक्ष्मीपुरमा बोजो पोखरी विस्तार गर्ने कार्यक्रममा रकम छुट्याइएको छ ।

नगरको दीर्घकालीन योजनाका तीन कार्यक्रममा लगाइएको यो कार्यक्रममार्फत गोर्खेस्थित वृक्षरोपण कार्यक्रममा मात्रै अहिले ४५ जनाले रोजगारी पाइरहेका छन् । नगरले गतवर्षको अन्तिममा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गरेर त्यही ‘बेरोजगार युवा’लाई मात्र काममा खटाएको हो । वृक्षरोपण नगरिएका कारण बोटबिरुवा मासिने अवस्थामा पुगेको यस क्षेत्रमा बढीमा पाँच लाख बिरुवा रोप्ने योजना रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक विष्णु रिजालले बताउनुभयो ।

यस्तै नगरले दोस्रो कार्यक्रमअन्तर्गत वडा नं– ४ को शिवालय सीमसार क्षेत्र विस्तारमा बजेट छुट्याएको छ । पर्यटकीय तथा सीमसार क्षेत्रको रूपमा चिनिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको कार्यक्रमले नयाँ पर्यटकीयस्थलको रूपमा विकास हुन लागेको वडाध्यक्ष मधुसुदन लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार पोखरी पुनःनिर्माण हुने भएपछि गाउँका सर्वसाधारणलेसमेत श्रम गर्दै आएका छन् । मेची नदीको मुहानको आसपासमा रहेको यो पोखरी पुनःनिर्माणपछि पर्यटकीय क्षेत्रमा उल्लेख्य प्रभावपर्ने लामिछानेको भनाइ छ । उक्त कार्यक्रममार्फत पोखरी निर्माणमा ४० जनाले अहिले रोजगार पाइरहेका छन् ।

यही कार्यक्रमअन्तर्गत बोजो पोखरी विस्तार गर्न पनि यो बजेट छुट्याइएको छ । यहाँ पनि अहिले ५५ जनाले रोजगार पाइरहेका संयोजक रिजालले बताउनुभयो । भौतिक निर्माणलगायतका समस्याले मासिने लागेको यो पोखरी यो कार्यक्रमपछि पुनःस्थापित हुने अनुमान छ । अहिले यहीँ काममार्फत नगरमा १४० जनाले दैनिक काम पाइरहेका छन् । नगरमा हाल एक हजार ६२४ जना बेरोजगार छन् । रासस


प्रकाशित | १६ असार २०७६, सोमबार ०८:५९