सुडान घोटाला काण्ड: पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान

काठमाडौं: सुडान घोटाला काण्डमा प्रहरीको बन्दोबस्ती सामान खरीदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक आइजी रमेशचन्द ठकुरी जेल चलान गरिएको छ ।

सर्वोच्च अदालतमा आज कारागार बाहिरै बसेर पुनरावेदन गर्न पाउने निवेदन लिएर ठकुरी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च प्रशासनले फैसला कार्यान्वयनलाई सहयोग गर्नुपर्ने भन्दै ठकुरीलाई डिल्लीबजार कारागार चलान गरेको हो ।

पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला सुनाएको थियो । सो काण्डमा सर्वोच्च अदाललते नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना र चन्दलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना सुनाएको थियो । राणा र गुरुङ जेल सजाय भोगिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनुसार सुडान मिसनमा करीब रु ४३ करोड बराबरको सामान खरीदमा रु २८ करोड ४० लाख भ्रष्टाचार भएको थियो । विसं २०६५ असोजदेखि सुडानको डार्फरमा नेपाल प्रहरीको टोली खटिँदै आएको छ । रासस


प्रकाशित | १९ असार २०७६, बिहीबार २१:०८